इरानको संसदमा एनपिटि त्याग्ने प्रस्ताव

0
Shares

दुवइ, (एजेन्सी)।

इरानको संसदको न्युज साइट इक्यानाले मंगलवार इरानले आणविक अप्रशारण सन्धि ( एनपिटि ) त्याग्ने प्रस्ताव अघि सारेको जनाएको छ। यस कदमलाई तेहरानको पश्चिम जगत्लाई दिइएको थप चुनौतीको रुपमा राजनीतिक विश्लेषकहरूले हेरेका छन्। तर उक्त वेबसाइटले संसद्मा सो प्रस्तावमाथि कहिले मतदान हुने भन्ने खुलाएको छैन।

राष्ट्रको कुनै पनि आणविक नीतिबारे इरानको सर्वोच्च धार्मिक नेता अयातोल्लाह लि खोमेनीले अन्तिम निर्णय गर्ने गरेको छ। इरानका विदेशमन्त्री मोहमदजावाद जारिफले गत साता यदि युरोपेली मुलुकहरूले एनपिटिलाई संयुक्त राष्ट्र संघको सुरक्षा परिषद्मा आणविक सम्झौतालाई लिएर सिफारिस गरेको खण्डमा इरानले एनपिटि नै त्याग्न सक्ने बताएका थिए।

यदि इरानले यसो गरेको खण्डमा तेहरानको पश्चिमी शक्ति राष्ट्रहरूसंगको कुटनीतिक सम्बन्धमै ठूलो प्रभाव पर्न सक्छ। सन् १९६८ को एनपिटि विश्वमा शीतयुद्ध पछिका दिनहरूमा विश्वव्यापी आणविक नियन्त्रणकै आधारशिला साबित हुँदै आएको छ।

त्यसै गरी सन् २०१५ मा इरानले आफ्नो आणविक कार्यक्रम नियन्त्रणमा राखे बापत आफुमाथि लगाइँदै आएको आर्थिक नाकाबन्दी खुकुलो हुँदै जाने शर्तमा विश्वका बहु शक्ति राष्ट्रहरूसँग एउटा सम्झौतामा हस्ताक्षर गरेको थियो। तर इरानले सो सम्झौताका बुँदाहरू गम्भीर ढंगले पालना नगरेको भन्दै सन् २०१८ मा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सम्झौताबाट अमेरिकालाई अलग्याएका थिए।

त्यसपछि अमेरिकाले इरानमाथि थप नाकाबन्दी गरेको थियो। बेलायत, फ्रान्स र जर्मनीले दुई साताअघि इरानले आणविक सम्झौता उल्लंघन गरेको ठहर गर्दै विवादलाई पुन सुरक्षा परिषद्तर्फ फर्काएर संयुक्त राष्ट्र संघले इरानमाथि थप नाकाबन्दी हुन सक्ने संकेत दिएका थिए।

केही समयअघि इराकको एक विमानस्थलमा अमेरिकी ड्रोन हमलामा इरानी कमान्डर कासिम सोलेमान मारिएपछि इरानले इराकस्थित अमेरिकी सैनिक अखडामा रकेट आक्रमण गर्दा झन्डै इरान र अमेरिकाबीच युद्ध शुरु भएको थियो।