आफैंले बोकेको बन्दुक पड्केर प्रहरी जवान घाइते

0
Shares

नेपाल समाचारपत्र, बाँके।

विप्लव माओवादीका कार्यकर्तालाई पक्राउ गर्ने क्रममा बर्दियामा एकजना प्रहरीलाई आफैंले बोकेको बन्दुक पड्केर गोली लागेको छ।
विप्लवका कार्यकर्ताहरु एनसेल टावर हान्न आएका छन् भन्ने विशेष सूचना पाएपछि पुगेको प्रहरीले विप्लवका कार्यकर्तालाई समात्दा आफंैसँग भएको बन्दुक पड्किदा प्रहरी जवान गंगाराम चौधरी घाइते भएका हुन्।

‘विप्लवका कार्यकर्तालाई समाते। ऊ भाग्न खोज्दा बल प्रयोग भयो। त्यही बेलामा आफूसँग भएको बन्दुक पड्किदा प्रहरी जवान चौधरी घाइते भए, बर्दियाका एसपी राजेशनाथ बास्तोलाले भन्नुभयो, दुर्घटनाबस घटना भयो।’

दाहिने खुट्टाको साप्रामा गोली लागेका चौधरी खतरामुक्त छन्। चौधरीको भेरी अस्पताल, नेपालगन्जमा उपचार भइरहेको छ। घाइते चौधरीका अनुसार, विप्लवका कार्यकर्ताहरु आएको थाहा पाएपछि तीन वटा मोटरसाइकलमा ६ जना प्रहरी मधुवन नगरपालिका–४ को नहर आसपासमा पुगेका थिए।

विप्लव माओवादीका चार जना दुई वटा मोटरसाइकलमा थिए। प्रहरी र उनीहरु नहर वारी र पारी भए। प्रहरी जवान चौधरीले एकजनालाई समाते। ऊ भाग्न खोज्दा प्रहरीले बेस्सरी बल प्रयोग गरेर समातिरहे। त्यही बेलामा बन्दुक पड्कियो र चौधरीको साप्रामा लाग्यो।

प्रहरीले दुई जना विप्लव कार्यकर्तालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा जयबहादुर ठाडामगर र रोहितकुमार सुनार रहेका छन्। भेरी अस्पतालमा उपचार गराइरहेका चौधरीले दुई वटा मोटरसाइकलमा रहेका चार जनामध्ये एउटा मोटरसाइकलका एकजना र अर्को मोटरसाइकलका एक जना भागेको बताउनुभयो। घाइते चौधरीलाई भेट्न बाँकेका एसपी वीरबहादुर ओली अस्पताल पुगेका थिए।