जनस्वास्थ्यमाथि सरकारको खेलवाड

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं

कोरोना भाइरसका बारेमा विश्वव्यापी चिन्ता व्यक्त गरी खोजको अभियान नै चालेको अवस्थामा नेपाल सरकारले भने प्रमाणित भइसकेको प्रयोगशाला रिपोर्टसमेत लुकाउन निर्देशन दिनुले निकै त्रासको अवस्था सृजना गरेको छ।

सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरसको संक्रमण देखिएको भनिएकी एक महिलाको प्रयोगशाला रिपोर्ट गोप्य राख्दै अस्पष्ट दुई लाइनको विज्ञप्ती निकालेर जनस्वास्थ्यमाथि खेलबाड गरेको स्वास्थ्यकर्मीहरुले नै जनाएका छन्।

टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचाररत ४८ वर्षीय एक महिलामा पनि कोरोना भाइरस भेटिएको खबर सोमबार बाहिर आएको थियो।

सोमबार इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले टेकूमा उपचाररत महिलाका विषयमा कुनै पनि कुरा उल्लेख नगरी प्रयोगशाला परीक्षण गरिएका कुनै पनि थप व्यक्तिमा कोरोना भाइरसको संक्रमण पुष्टि नभएको भन्दै जनस्वास्थ्यमाथि खेलबाड गर्न खोजेको जानकारहरुले बताएका छन्।

सरकारले अस्पतालका डाक्टर, नर्स तथा अन्य कर्मचारीलाई मन्त्रालयबाट कुनै पनि कुरा बाहिर नल्याउन निर्देशन दिएको कुरा उपचारमा संलग्न चिकित्सकले स्वीकारेका छन्।

चिकित्सक भन्छन् आम नागरिकलाई सही सूचना दिएर मात्र सरकारले रोगबाट जनतालाई बचाउने प्रयास गर्नुको सट्टा रोगका बारेमा समेत जनचेतना मूलक कार्यक्रम नगरी यस्तो ढाटको खेती गर्नुले थप जोखिम निम्तिन सक्ने बताउँछन्।

जनस्वास्थ्य प्रयोगशालामा सोमबारदेखि नै कोरोना भाइरसको परीक्षण शुरु भएको हो। कोरोनाकै आशंका गरिएका एक अमेरिकी नागरिक र अर्का एक जना ३२ वर्षीय युवामा भने कोरोना भाइरस नदेखिएको अस्पताल स्रोतले जाकनारी दियो।

यसअघि एक जना नेपालीमा कोरोना भाइरसको संक्रमण भने पुष्टि भइसकेको छ। ती व्यक्ति उपचारपछि अस्पतालबाट डिस्चार्जसमेत भइसकेका छन्।