शहीदको बलिदानलाई भुल्न हुँदैनः राष्ट्रपति भण्डारी


न्युज अफ नेपाल, हेटौंडा ।

राष्ट्रपति विद्यादेवी भण्डारीले जलवायु परिवर्तनको असर कम गर्न पर्यावरणमैत्री विकासमा जोड दिनुभएको छ । हेटौंडामा शहीद सप्ताहको अवसरमा मंगलबार आयोजित कार्यक्रममा राष्ट्रपति भण्डारीले विश्वव्यापीरुपमा पर्यावरणमा प्रतिकूल प्रभाव परेकोले जलवायु परिवर्तन भएर जैविक विविधता संकटमा परेको बताउनुभएको हो ।

उहाँले चुरे क्षेत्रमा रहेका जीव र बनस्पति संरक्षणका लागि वातावरणीय सन्तुलन कायम गर्नुपर्ने खाँचो औंल्याउँदै मुलुकमा उत्पादित विद्युत ऊर्जालाई सदुपयोग गर्न सुदृढ विद्युत् प्रसारणका साधन तथा प्रवद्र्धन गर्ने उपकरणको प्रयोग बढाउनुपर्ने बताउनुभयो । राष्ट्रपति भण्डारीले पर्यटन प्रवद्र्धनमा बागमती प्रदेश सरकार जुट्नुपर्ने बताउनुभयो । राष्ट्रपति भण्डारीले नेपाल भ्रमण वर्ष २०२० लाई सहयोग पुर्याउन प्रदेश सरकारलाई भूमिका निर्वाह गर्न आग्रह गर्नुभयो ।

‘पर्यटन प्रवद्र्धनमा प्रदेश सरकार जुट्नु जरुरी छ,’ उहाँले भन्नुभयो–आन्तरिक आवागमन र पर्यटन प्रवद्र्धनमा थप ध्यान दिए विकासमा सघाउ पुग्नेछ । राष्ट्रपति भण्डारीले ‘सम्बृद्ध नेपाल–सुखी नेपाली’ को अवधारणा साकार पार्न सरकारलाई तत्पर रहन आग्रह गर्नुभयो । यसका लागि उहाँले हरेक क्षेत्र विकासमा प्रदेश सरकारको भूमिका महत्वपूर्ण रहने सुझाउनुभयो । उहाँले पर्यटन प्रवद्र्धनमा प्रदेश सरकार लाग्ने विश्वास व्यक्त गर्नुभयो । जनस्वास्थ्यलाई ध्यानमा राखेर सुविधायुक्त स्वास्थ्य संस्था र गुणस्तरीय शैक्षिक संस्था स्थापना गर्न उहाँले प्रदेश सरकारको ध्यानाकर्षण गराउनुभयो ।

उहाँले शहीदबारे अध्ययन गर्न स्मारक महत्वपूर्ण थलो बन्ने भन्दै उहाँले सम्बृद्धिको अभियानमा जुट्न प्रदेश सरकार सक्षम हुने विश्वास व्यक्त गर्नुभयो । प्रदेशको स्थायी राजधानी हेटौंडामा पर्यटन प्रवद्र्धनका लागि आवश्यक भौतिक पूर्वाधार निर्माण तथा विकासमा ध्यान दिनुपर्ने उहाँले औंल्याउनुभयो ।
शहीद दिवस तथा हेटौंडा–११ स्थित शहीद स्मारकको रजत जयन्तीका अवसरमा नवनिर्मित प्रजातान्त्रिक पार्कको मंगलबार उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले देशमा भएको विभिन्न परिवर्तनमा उल्लेख्य भूमिका खेल्ने शहीदप्रति राष्ट्रले उच्च सम्मान व्यक्त गर्न जरुरी रहेको बताउनुभयो । ‘शहीदप्रतिको सम्मानले नयाँ पुस्तामा राष्ट्रियता जगेर्ना, देशभक्तिको भावना जागृत गर्नुका साथै लोकतन्त्र सम्वद्र्धन र प्रवद्र्धन गर्न तथा सामाजिक न्यायको पक्षमा क्रियाशील हुन उत्प्रेरित गर्ने विश्वास लिएकी छु,’ उहाँले भन्नुभयो ।

नेपालकी प्रथम महिला राष्ट्रपति भण्डारीले शहीदको बलिदानलाई भुल्न नहुने भन्दै भन्नुभयो–शहीदको बलिदान र त्यागले देशमा परिवर्तन आएको हो । शहीदहरुको त्याग, तपस्या, प्रेरणाबाट हाल राष्ट्रमा गणतान्त्रिक संसदीय प्रजातन्त्र र स्थायी राजनीतिक परिवर्तन ल्याएको छ । हेटौंडाको शहीद स्मारक सबैको साझा थलोका रुपमा विकास भएको भन्दै उहाँले दिवसका अवसरमा सप्ताहव्यापी कार्यक्रम हुनु शहीदप्रति सम्मान भएको उल्लेख गर्नुभयो । ‘स्मारकमा पर्यटकलाई आकर्षित गर्न भौतिक संरचनाहरु निर्माण गर्नु खुशीको कुरा हो,’ उहाँले सामाजिक कार्यको पक्षमा क्रियाशील हुने कार्यमा उत्प्रेरित हुन आग्रह गर्नुभयो ।

उहाँले मुख्य प्रवेशद्वारमा निर्माण गरिएको रजत जयन्ती स्तम्भ अनावरण, ठूलो ढुंगामा कुँदिएका शहीद प्रतीमा र जननेता मदन भण्डारीको शालिकमा माल्यार्पण गर्नुभयो । बहुदलीय जनबादका ब्याख्याता भण्डारीको २०५० जेठ ३ गते चितवनको दासढुंगामा रहस्यमय दुर्घटनामा मृत्यु भएको थियो । जनआन्दोलन २०४६ मा बाम मोर्चाबाट सक्रिय भण्डारीकी पत्नी हुनुहुन्छ राष्ट्रपति विद्यादेवी भण्डारी ।

पार्कमा नेपाल कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठ, नेपाली काँग्रेसका संस्थापक नेता तथा पहिलो जननिर्वाचित प्रधानमन्त्री वीपी कोइराला, लौहपुरुष गणेशमान सिंह र पहिलो जननिर्वाचित कम्युनिष्ट प्रधानमन्त्री मनमोहन अधिकारीको प्रतीमा राष्ट्रपति भण्डारीले अनावरण गर्नुभएको थियो ।
कार्यक्रममा स्मारक विकास समिति अध्यक्षसमेत रहनुभएका बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले भन्नुभयो–लामो राजनीतिक स्थिरतापछि देशमा बलियो र स्थिर सरकार गठन भएको छ । भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता, प्रशासनिक काममा चुस्तता र स्थानीय सरकारबाट गाउँमै सेवाप्रवाह र विकास-निर्माणप्रति प्रतिवद्धताबाट देश बन्दैछ भने सन्देशप्रवाह भएको छ ।

देशमा अधिकारप्राप्तिको लडाईं सकिएको बताउँदै उहाँले संघर्षको युगबाट सम्बृद्धिको युगमा नेपाल प्रवेश गरेको दाबी गर्नुभयो ।प्रदेशका प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले हालको व्यबस्था निरन्तर संघर्षबाट प्राप्त भएको बताउँदा प्रदेशका उद्योग, बन, वातावरण तथा पर्यटन मन्त्री अरुण नेपालले प्रदेशमा निर्माणाधीन पर्यटकीय पूर्वाधारबारे जानकारी गराउनुभएको थियो ।

कार्यक्रममा शहीदका आकृति बनाउने कलाकारत्रय कमलेश महर्जन, गोबिन्द चौधरी र पृथ्वी श्रेष्ठलाई राष्ट्रपतिद्वारा सम्मान गरिएको थियो । प्रजातान्त्रिक पार्क निर्माणका लागि करिब डेढ करोड रुपियाँ लागेको शहीद स्मारक विकास समितिले जनाएको छ । स्मारकमा विभिन्न कालखण्डका शहीदलाई एकैथलोमा स्मरण गर्न शहीद स्मृति स्तम्भ निर्माण गरिएको थियो । जसमा ६५ फिट अग्लो स्तम्भ निर्माण गरिएको छ ।

यसअघि पनि राष्ट्रपति भण्डारीबाट स्मारकपरिसरमा निर्माण भएको शहीद स्तम्भ, झोलुंगेपुल तथा शहीद अध्ययन केन्द्र उद्घाटन गरिएको थियो । स्मारकमा विभिन्न राष्ट्रभक्तिपूर्ण युद्ध र विभिन्न जनसंघर्षमा शहीद भएका १२ शहीदको एउटै ढुंगामा शहीदका मुखाकृति कुँदिएका छन् । २०४६ सालको जनआन्दोलनपश्चात् २०४७ साउन ७ गते डाँडामा वृक्षरोपण गरी शहीद स्मृति बाटिका नामाकरण गरिएको थियो । ‘२०५२ सालमा तत्कालीन प्रधानमन्त्री अधिकारीले उद्घाटन गरेको स्मारक देशको एक नमूना शहीद केन्द्र हो, जहाँ वार्षिक करिब पाँच लाख बढी आन्तरिक र वाह्य पर्यटक आउने गरेका छन्,’ समिति सचिव आरसी न्यौपानेले भन्नुभयो ।

समारोहमा ‘शहीद स्मारक दर्पण’ स्मारिका लोकार्पण गरिएको थियो । मुख्यमन्त्री पौडेलको सभाध्यक्षतामा भएको कार्यक्रममा स्मारक विकास समिति उपाध्यक्ष रामेश्वर रानालगायतले शहीदका सपनालाई साकार पार्न सम्बृद्धिको लक्ष्यमा अघि बढ्नुपर्ने धारणा राख्नुभएको थियो ।