केसलिया खोलामा विभत्स अवस्थामा युवकको शव फेला


सरोज यादव, सुनसरी ।
सुनसरीको दुहबी–१२ बुगडरीस्थित केशलिया खोला किनारमा एक युवाको शव विभत्स अवस्थामा भेटिएको छ । विराटनगर महानगरपालिका–४ इक्राही र सुनसरीको दुहवी नगरपालिका–१२ बुगडरी जोड्ने केशलिया खोला पुलको झण्डै ५० मिटर पश्चिमतर्फ विभत्स तरिकाले हत्या गरेर फ्यालिएको अवस्थामा सो युवाको नाङ्गो शव फेला परेको छ । सो ठाँउमा रहेको बाँसको झ्याङ नजिकैको खाड्लमा परालले छोपेर पुरिएको अवस्थामा शव भेटिएको स्थानीयले जानकारी दिएका छन ।

शव पराल र माटोले छोपिएको भएपनि मृतकको पाइताला माटो बाहिर देखिएपछि स्थानियवासीले प्रहरीलाई खबर गरेका थिए । खबरपछि पुगेको सुनसरी प्रहरीले शबको मुचुल्कागरि पोष्टमार्टमकालागि लगेको छ । शवको प्रकृति हेर्दा हत्या गरि पुरिएको हुनसक्ने प्रत्यक्षदर्शी विशाल यादवले जानकारी दिनुभयो । शवको अनुहार कुच्चिएको र नाङो अवस्थामा भेटिएको तथा नजिकै रगतले लत्पतिएको इटट समेत भेटिएको उहाँको भनाई छ ।

सो बिषयमा जानकारी दिनुहुँदै सुनसरी प्रहरी प्रमुख एसपी यज्ञबिनोद पोखरेलले मृत भेटिएका युवाको नाम, थर र वतन भने खुल्न नसकेको बताउनुभयो । उहाँले मृत भेटिएका युवाको शरीरमा कुनै पनि कपडा नभएको र अनुहार तथा टाउको किच्याएर चिन्नै नसक्ने बनाएको अवस्थामा शव भेटिएको बताउनुभयो । बाँस झ्याङ नजिकै रहेको घटनास्थलमा वरपर लत्पतिएको रगतका टाटाहरु देखिएको छ । घटनास्थलबाट शवसँगै रगत लागेको एउटा इँटा र च्यातिएको गलबन्दीको टुक्रा समेत फेला परेको एसपी पोखरेलले बताउनुभयो ।

हत्या गरेर फ्यालिएका युवाको उमेर अन्दाजी २०/२५ वर्ष जस्तो देखिन्छ । शरीरका केही भाग सड्न लागेको अवस्थामा भेटिएको शव पोस्टमार्टमका लागि धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगेर घटनाको अनुसन्धान गहन ढंगले थालिएको एसपी पोखरेलको भनाइ छ । हत्या गरिएका युवाको पहिचान नै नभएका कारण घटनामा संलग्नका बारेमा पनि यकिन हुन नसकेको उहाँको भनाइ छ ।

घटनाको प्रकृति हेर्दा रिसइबीका कारण युवाको हत्या भएको हुनसक्ने आशंका गरिएको छ । केही दिन अघि विराटनगरस्थित सिघिया खोलामा लेखापरीक्षकको शव भेटिएको थियो । शंकास्पद अवस्थामा भेटिएका लेखापरीक्षक प्रबल घिमिरेको मृत्युको कारण प्रहरीले अझैसम्म पत्ता लगाउन सकेको छैन ।