विराटनगरबाट लागुऔषधसहित प्रहरी पक्राउ


न्युज अफ नेपाल, विराटनगर
भारतको जोगवनीबाट अवैध रुपमा ल्याउदै गरेको लागुऔषधसहित एक जना प्रहरी जवान विराटनगरबाट पक्राउ परेका छन् । प्रहरीले धनकुटाको पाख्रिबास–१४ घर भएका २३ वर्षीय प्रहरी जवान सरोज गिरीलाई पक्राउ गरेको हो ।

पैदल हिँडिरहेका बेला शंका लागेर लागुऔषध नियन्त्रण ब्युरो विराटनगरको टोलीले चेकजाँच गर्दा उनले लगाएको ज्याकेटको गोजीमा एक सय ४४ ट्याब्लेट स्पास्मोप्रोक्सिभन नामक लागुऔषध फेला परेको थियो ।

उनको साथबाट लागुऔषध फेला परेपछि विराटनगर भन्सार कार्यालयको १ नम्बर ढाटबाट गिरीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी लोकदर्शन थापाले बताउनुभयो । कारागार सुरक्षा गार्ड झापा दरबन्दी भएका जवान गिरी दंगा नियन्त्रण प्रहरी गण दुहवी सुनसरीमा कार्यरत थिए ।