विद्यार्थीहरुको पठनपाठन नियमित सुचारु गर्न माग गर्दै ज्ञापनपत्र


न्युज अफ नेपाल, बुटवल ।

अनेरास्ववियू बुटवल बहुमुखी क्याम्पस कमिटीले विद्यार्थीहरुको पठनपाठन अस्तब्यस्त बनाएकोप्रति गम्भिर ध्यानाकर्षण गराएको छ । बुटवल बहुमुखी क्याम्पसमा केही दिनदेखि आशिंक शिक्षकहरुले स्वतः स्थायी हुनुपर्ने माग राखी विद्यार्थीहरुको पठनपाठनलाई नै अस्तब्यस्त बनाउदै आएका छन् ।

अनेरास्ववियूले हरेक वर्ष नयां विद्यार्थी भर्नाको समयमा आन्दोलनका नाममा क्याम्पसलाई अस्तब्यस्त पार्ने र प्राइभेट क्याम्पसमा विद्यार्थी पठाउने नियतले अनावश्यक माग राखी आन्दोलन नगर्न सम्बन्धित पक्षलाई आग्रह गरेको छ ।

बुटवल बहुमुखी क्याम्पसमा अविलम्ब विद्यार्थीको पठन पाठन सुचारु गर्न माग गर्दै अनेरास्ववियुका नेता शेषकान्त पोखरेल, नविन थापा सारु, भरत अर्याल, सन्तोष अर्याल, बिष्णु ज्ञवाली, गोविन्द रिजाल लगायतले अनेरास्ववियूका नेता भरत अर्याल र टेकराज रेग्मीले संयुक्त रुपमा हस्ताक्षेरित विज्ञप्ति कार्यबाहक क्याम्पस प्रमुख बुद्धबहादुर बस्नेतलाई ज्ञापनपत्र बुझाएको थियो ।

बुटवल बहुमुखी क्याम्पसको नाम लिएर विभिन्न प्राइभेट शैक्षिक संस्थामा आवद्ध हुने सबै शिक्षकहरुलाई खुल्ला प्रतिस्पर्धामा जान नसके आफ्नो विकल्प खोजी तत्काल क्याम्पस छोड्न समेत अनेरास्ववियूले चेतावनी दिएको छ ।