होमवर्क नगरेको भन्दै सिरहामा कुटेर नै विद्यार्थीको हात भाँचे


सुभेन्द्र दास, लहान ।
एकाइसौं शताब्दीमा बालबालिकाहरुलाई पिटेर हप्काएर होईन, उसको इच्छा, मनोभावना, माया गरेर शिक्षकले सिकाई गर्नुपर्छ भन्ने मान्यता हो । आजको बालबालिका भोलीको कर्णधार हुन भन्ने कुरालाई बुझेर विद्यालयले शिक्षादिक्षा दिन सके चरित्रवान र दक्ष जनशक्ति उत्पादन गर्न सकिन्छ । तर विद्यालयले नै बालबालिकालाई सिकाउने नाममा दुबर््यवहार गरी पशु झै व्यबहार गर्यो भने त्यस्तो विद्यालयबाट उत्पादन हुने बालबालिकासंग कस्तो अपेक्षा गर्ने ? ठिक यस्तै भएको छ सिरहा जिल्लाको नाम चलेको निजी विद्यालयहरु मध्ये पर्ने मिर्चैया स्थित स्वस्तिक पाठशालामा ।

सिरहा सदरमुकाम बस्ने बसन्त यादवको छोरा स्वस्तिक पाठशालामा वोडर्समै रही कक्षा ६ मा अध्ययनरत विद्यार्थी रितिक यादवले होमवर्क नगरेको भन्दै निर्मम्तापूर्वक कुटपिट गरेर शिक्षकले नै हात भाँची दिएको खबर रहेको छ । कक्षा ६ मा अध्ययनरत विद्यार्थी रितिक यादवले नेपाली बिषयको होमवर्क नगरेको भन्दै आवेसमा आई विद्यालयमा कार्यरत नेपाली विषयको शिक्षक तारा कार्कीले निर्मम्तापूर्वक कुटपीट गरी हात नै भाँचि दिएको विद्यार्थीको अविभावकको आरोप रहेको छ । घाईते विद्यार्थीको एक्सरे रिपोर्ट अनुसार हात नै भाँचिएको बुझिएको छ ।

यता स्वस्तिक पाठशाला मिर्चैयाका प्रिन्सिपल महेश्वर कार्कीले शिक्षकले कुटपीट गरी नै हात भााचेको जस्तो लाग्दैन, यस सम्बन्धमा बिस्तृत बुझिने प्रतिकृया दिए । विद्यार्थीको अविभावक विदार्थीलाई शोषण, दमण तथा पशु झै ब्यवहार गरेको प्रती आक्रोसित भएका छन् । यस्तै घटना २०७२ सालमा पनि घटेको थियो । सिरहाको औरही गाँउपालिका वडा नं ४ का जीबछ साहको छोरा यूकेजीमा अध्ययनरत दिपक साहको पनि यसरी नै निर्मम्तापूर्वक कुटपीट गरी दाहिना हात नै भाँचि दिएको आरोप रहेको छ ।