कांग्रेसको महाधिवेशन तोकिएकै समयमा हुने


न्युज अफ नेपाल, काठमाडौं ।
प्रमुख प्रतिपक्षदल नेपाली कांग्रेसले तोकिएकै समयमा केन्द्रिय महाधिवेशन हुने गरि महाधिवेशनको कार्यतालिका परिवर्तन गरेको छ । साथै सात सदस्यीय क्रियाशिल सदस्य छानविन समिति बनाउने निर्णय पनि गरेको छ ।

लामो समयसम्मको आन्तरीक विवादलाई अन्त्य गर्दै सोमबार बसेको कांग्रेस केन्द्रिय समिति बैठकले महाधिवेशनको कार्यतालिका सर्वसम्मत रुपमा पारित गरेको हो । यस अघि २०७७ फागुन ७ गते महाधिवेशन गर्ने गरि बहुमतको निर्णयमा कार्यतालिका सार्वजनीक गरिएको थियो । यसलाई कायम राख्दै स्थानीय तहको अधिवेशन गर्ने कार्यतालिका परिवर्तन गरिएको हो ।

यस अघि सार्वजनीक भएको कार्यतालिकामा २०७७ मंसिर ९ देखि पौस १५ भित्र गाउ, नगर, क्षेत्र, सबै जिल्ला अधिवेशन गरिसक्नुपर्ने थियो । अव कात्तिकको दोस्रो साता बाट नै तल्लो तहको अधिवेशन शुरु हुनेछ । नया कार्यतालिका अनुसार गाउँ-नगर वडा अधिवेशन २०७७ कात्र्तिक १६ गते गर्ने,
गाउँ-नगरपालिका अधिवेशन २०७७ कात्र्तिक १८ गते गर्ने, प्रदेश सभा क्षेत्रीय अधिवेशन २०७७ कात्र्तिक २१ गते गर्ने, प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन अन्तर्गत एक मात्र प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएको जिल्लामा २०७७ कात्र्तिक २३ गते र एक भन्दा बढी प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएको जिल्लामा कात्र्तिक २५ गते गरिने भएको छ । प्रदेश अधिवेशन भने २०७७ मंसिर २९ गते गरिने भएको छ ।

केन्द्रिय समिति बैठकले सात सदस्यीय क्रियाशिल सदस्यता छानविन समिति बनाउने निर्णय गरेपनि यो समितिको संयोजक र सदस्य सभापति शेरवहादुर देउवाले पछि छलफल गरेर तोक्ने सहमति भएको छ । अब काग्रेस बैठक यहि माघ २३ गते बस्ने भएको छ । २३ गते बस्ने बैठकमा पार्टीको १४ औं महाधिवेशन सम्पन्न गर्नका लागि परिमार्जन सहित सोमबार पारित गरिएका कार्यतालिका र कार्यविधिसँग सम्बन्धित विधानका धारा र नियमावलीका नियम सम्बन्धमा छलफल गरी निर्णय गरिने भएको छ ।

गत शुक्रवार सभापति देउवा निवास बुढानिलकण्डमा भएको शीर्ष नेताहरुको छलफलमा नेविसंघ, तरुणदलमा भागवण्डा गर्ने र महाधिवेशनको कार्यतालिका पनि परिवर्तन गर्ने सहमति पछि केन्द्रिय समिति बैठक बसेको थियो । केन्द्रिय समिति बैठक बस्दै गर्दा पार्टी केन्द्रिय कार्यलयमा नेपाल विद्यार्थि संघका नेताहरुवीच झगडा भएको थियो । नेविसंघमा उमेरहद कायम राख्ने हटाउने बारे विवाद छ । शीर्ष नेताहरुले भागवण्डामा ३२ वर्षीय उमेर हद हटाएर नेविसंघको तदर्थ समिति गठन गर्न लागिपछि विद्यार्थिहरु आमरण अनसन बस्न पार्टी कार्यालय पुगेका थिए ।

                           महाधिवेशनको कार्यतालिका यस्ताे छः

  • पार्टीको अन्तरिम संरचना समायोजन गरी सक्ने अवधि– २०७६ माघ मसान्तभित्र ।
  •  विधानले तोकेको कार्यविधि बमोजिम प्रतिनिधि सभा क्षेत्रीय कार्यसमितिले नयाँ क्रियाशील सदस्यता वितरण र जिल्ला कार्यसमितिले क्रियाशील सदस्यता नविकरण गर्ने कार्य सम्पन्न गर्ने अवधि – २०७६ फाल्गुण देखि २०७६ चैत्र मसान्तसम्म ।
  • प्रतिनिधि सभा क्षेत्रीय कार्यसमितिले वितरण गरेको नयाँ क्रियाशील सदस्यता र जिल्ला कार्यसमितिले नविकरण गरेको क्रियाशील सदस्यताको सूची प्रकाशन र केन्द्रमा पठाउने अवधि – २०७७ वैशाख मसान्तभित्र ।
  • नयाँ क्रियाशील सदस्यता वितरण सम्बन्धमा जिल्ला स्तरीय क्रियाशील सदस्यता प्रारम्भिक छानविन समितिमा उजुरी र नविकरण उपर क्रियाशील सदस्यता केन्द्रीय छानविन समितिमा उजुरी दिने अन्तिम अवधि –२०७७ जेष्ठ १५ गतेभित्र ।
  • उजुरी उपर क्रियाशील सदस्यता प्रारम्भिक छानविन समितिले निर्णय गरिसक्नु पर्ने अवधि –२०७७ जेष्ठ मसान्तभित्र ।
  • क्रियाशील सदस्यता प्रारम्भिक छानविन समितिले गरेको निर्णयमा चित्त नबुझेमा क्रियाशील सदस्यता केन्द्रीय छानविन समितिमा उजुरी÷पुनरावेदन दिइसक्नु पर्ने अवधि –२०७७ असार १५ गतेभित्र ।
  • उजुरी-पुनरावेदन उपर क्रियाशील सदस्यता केन्द्रीय छानविन समितिले निर्णय गरिसक्नु पर्ने अवधि –२०७७ श्रावण १५ गतेभित्र ।
  • नयाँ क्रियाशील सदस्यता र क्रियाशील सदस्यता नविकरणको नामावलीको अन्तिम सूची तयार गरी छानविन समितिले केन्द्रीय सभापतिलाई बुझाई सक्नु पर्ने अवधि –२०७७ श्रावण २५ गतेभित्र ।
  • केन्द्रीय कार्यालयले केन्द्रीय सभापतिबाट प्रमाणित क्रियाशील सदस्यताको नामावलीको अन्तिम सूची केन्द्रीय निर्वाचन समितिलाई बुझाउने अवधि –२०७७ श्रावण मसान्तभित्र ।