अनलाइन मार्केटिङबाट ठगी गर्ने ४ जना पक्राउ

0
Shares

न्युज अफ नेपाल, वीरगञ्ज ।

अनलाइन मार्केटिङमार्फत सामान पठादिने भन्दै ठगी गर्ने चार जनलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाराको गढीमाई नगरपालिका ३ पिप्राविर्ता घर भई वीरगञ्ज १५ ब्रम्हचोक बस्ने २९ वर्षीय रोशन सिंह, भाइ २१ वर्षीय विशाल सिंह, भारत कलकत्ता घर भई वीरगञ्ज १५ बस्दै आएका २६ वर्षीय सविक भक्त र ब्रम्हचोकका फारुख आलम रहेको प्रहरीले जनाएको छ ।

उनीहरुले फेसबुक, वाट्सएप, ट्वीटर र म्यासेन्जर जस्ता विभिन्न सामाजिक सञ्जालहरुबाट सर्वसाधरणलाई प्रलोभनमा पारी ठग्दै आएका थिए । उनीहरुले फेक्टरी अनलाइन सपिङ क्लब एप्स बनाएर सोही एपमार्फत ठगी गर्दै आएका थिए । उक्त एप्समार्फत एप्पल कम्पनीको मोबाइल सस्तोमा उपलब्ध गराउने र अमेरिका, क्यानडा, सिंगापुर लगायतका देशहरुको भिसा समेत मगाइदिने भन्दै ठग्ने गरेका थिए ।

उनीहरुले नक्कली नागरिकताको प्रयोग गरी विभिन्न बैंकहरुमा खाता खोलेर सोही खातामा रकम मगाउने गरेको अनुसन्धानका क्रममा खुलेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । ठगीमा प्रयोग भएका विभिन्न कागजात सहित र मोबाइल समेत प्रहरीले बरामद गरेको छ ।

पक्राउ परेका चारै जनामाथि थप अनुसन्धान चलिरहेको प्रहरीले जनाएको छ ।