सांसद खातुन कीर्ते मुद्दामा दोषी ठहर, एक वर्ष कैदसहित जरिवाना सजाय

0
Shares

न्युज अफ नेपाल, विराटनगर ।

सरकारी छाप दस्तखत कीर्ते मुद्दामा प्रदेश १ की सांसद गुलेफुन मियाँ खातुन दोषी ठहरिएकी छन् । मियाँविरुद्ध एक वर्ष कैद र १४ हजार ५ सय ८३ जरिवाना सजायको फैसला भएको छ ।

खातुन र उनका श्रीमान शेख सिलावर मियाँले आफ्ना बुबा शेख धाई मियाँको नाममा रहेको मोही जग्गाको हक हस्तान्तरणका लागि तत्कालीन कदमाहा गाविसको लेटरप्याड, छाप र गाविस सचिवको दस्तखत कीर्ते गरेका थिए ।

उक्त मुद्दामा जिल्ला अदालत मोरङले गरेको आदेश उच्च अदालत विराटनगरले सदर गरेसँगै खातुन कीर्ते मुद्दामा दोषी ठहरिएकी हुन् । गुलेफुनका पति शेख दिलावर मियाँले आफ्ना बुवा शेख धाई मियाँको ०६३ माघ १० गते र आमा खैरुन खातुनको ०६५ मंसिर १२ गते मृत्यु भएकोले तत्कालीन कदमहा गाविस–२ स्थित मधुसुदनराज पाण्डेको कित्ता नम्बर ११० को ७२८० वर्ग मिटर क्षेत्रफल जग्गामा आफ्ना बुवाको नाममा रहेको मोहियानी हक हस्तान्तरणका लागि भूमि सुधार कार्यालय मोरङमा मुद्दा दर्ता गराएका थिए ।

बुबाको मृत्युपछि एकलौटी हक हस्तान्तरणका लागि कीर्ते गरी सिलावरले गाविसको सिफारिस पत्र भूमि सुधार कार्यालय मोरङमा बुझाएका थिए ।तर, शेख धाई मियाँका शेख सिलावर र दिलावर मियाँ दुई भाइ छोरा रहेका छन् ।

अदालतले दोषी ठहर गरे लगत्तै गुलेफुन फरार रहेकी छन् । फरार गरलेफूनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।