सवारी दुर्घटना कम गर्न ट्याक्टरमा रिफ्लेक्टर

0
Shares

न्युज अफ नेपाल, मोरङ ।

सवारी दुर्घटना न्यूनीकरण तथा ट्राफिक नियम उल्लंघन रोक्नका लागि मोरङको कर्सियामा ट्राफिक प्रहरीले सक्रियता बढाएको छ ।

ट्राफिक प्रहरी पोस्ट कर्सियाले सवारी चालकलाई आवश्यक प्रशिक्षण दिने, सम्झाई बुझाई गर्ने, दुर्घटनाग्रस्त क्षेत्रको पहिचान गरेर बोर्ड राख्ने, शैक्षिक संस्थामा विभिन्न खाले सचेतनामूलक कक्षाहरु सञ्चालन गर्ने, आम नागरिक एवं चालकलाई भेलाजम्मा पारेर ट्राफिक नियमका बारेमा जानकारी दिने, ट्याक्टरको पछाडि रातको समयमा टल्कने रिफ्लेक्टर राख्ने काम गरिरहेको छ ।

पोस्टका इन्चार्ज ट्राफिक प्रहरी सहायक निरीक्षक (असई) किशोर निरौलाले पछिल्लो समय सचेतनामूलक कार्यक्रम र ट्राफिक कारबाहीलाई तीव्र पारिएको जानकारी दिनु भयो । उहाँका अनुसार पछिल्लो समय विशेष गरेर ट्याक्टरका पछाडि रिफ्लेक्टर राख्ने कार्यलाई तीव्र पारिएको छ । ‘रातका समयमा नदेखिकाले ट्याक्टरमा अन्य सवारी साधन ठोक्किएर दुर्घटना बढी हुने गरेको पाइयो,’ निरौलाले भन्नु भयो, ‘त्यही भएर ट्याक्टरको पछाडि राति कुनै उज्यालो पर्नासाथ टल्कने रिफ्लेक्टर राख्ने अभियान थालिएको हो ।’ रिफ्लेक्टर टल्किने भएका कारण पछाडिबाट आउने सवारी साधनले राम्रोसँग देख्ने र ट्याक्टरमा ठोक्किएर सडक दुर्घटना हुन नपाउने उहाँको भनाइ छ । दैनिक तीन दर्जन बढी ट्याक्टरमा रिफ्लेक्टर राख्ने गरिएको छ ।

इँटा तथा कृषि उत्पादन ढुवानीका लागि रंगेली–विराटनगर सडक खण्ड अन्तर्गतको उक्त सडकमा बढी मात्रामा ट्याक्टर चल्ने गर्छन् । सवारी दुर्घटना रोक्नलाई चालक, पैदल यात्रु, विद्यार्थी तथा सर्वसाधारणलाई समेत भेला जम्मा पारेर आवश्यक प्रशिक्षण दिने र सचेतनामूलक कार्यक्रम गर्ने गरिएको जानकारी निरौलाले दिनु भयो ।

त्यस्तै पैदल यात्रुलाई बाटो काट्ने तरिका सिकाउँदै चालकलाई तीव्र गतिमा सवारी साधन सञ्चालन नगर्न सचेत गरिँदै आएको उहाँको भनाइ छ । नियम उल्लंघन गर्ने र सम्झाई बुझाई गर्दा पनि अटेर गर्ने सवारीका चालकलाई भने ट्राफिक नियम उल्लंघनको कसूरमा कारबाही गर्ने गरिएको असई निरौलाको भनाइ छ ।