सेनाले पसल चलाएर खानु नपरोस्

0
Shares

लक्ष्मण अधिकारी, काठमाडौं। 

नेपाली सेना, राष्ट्रिय सेना। नेपालीहरूले गौरव र विश्वास गर्नलायक संस्था अब यो मात्र छ भन्दा हुन्छ। राजनीतिक प्रभावले थिलथिलो भइसकेका अरू सरकारी निकायको तुलनामा नेपाली सेना बढी भरपर्दो देखिन्छ।

पहिला न्यायलयप्रति पनि आम नेपालीहरूको आस्था र सम्मान ज्यादै उच्च थियो। तर पार्टीका कार्यकर्ताहरू नै न्यायाधीशमा भर्ती हुन थालेपछि र आफू अनुकूल आदेश, निर्णय नपाउँदा महाअभियोगको मुग्रो उज्याउन थालेपछि न्यायालयको भरपर्दोपन खिइँदै गएको अनुभव गरिएको छ।

प्रहरी र निजामती सेवामा धेरै अघिदेखि नै राजनीतिक शक्तिबाट थिचोमिचो गर्ने प्रवृत्ति हावी भइरहेको छ। सत्तामा रहेको पार्टीप्रति वैचारिक आस्था राख्ने तथा अनैतिक लाभ उपलब्ध गराउनेलाई काखी च्याप्ने र अरूलाई पंगु बनाउने प्रवृत्ति परम्पराको रुपमा विकास भइरहेको छ।

साथै, जनताको काम गर्दा पनि ‘कोसेली’ खाने राणाकालीन दुष्चरित्र समाप्त हुनुको साटो झन मौलाउँदै गएको छ। यजसले गर्दा यी संस्थाहरू प्रतिको आस्था, विश्वास र सम्मान दु्रतरुपमा खस्किदै गएको छ।

यस सन्दर्भमा नेपाली सेनाले धेरै हदसम्म आफूप्रतिको आस्था र विश्वासलाई जोगाइ राख्न सकेको प्रतीत हुन्छ। विगतका ठूला राजनीतिक परिवर्तनमा पनि सेनाले धेरै हदसम्म तटस्थताको भूमिका निर्वाह गरेको थियो।

शान्ति सेनामा नेपाली सेनाको योगदान विश्वभरि चर्चित छ। विकास निर्माण कार्यमा र मुलुकमा आइपरेका प्राकृतिक प्रकोपका घटनामा पनि नेपाली सेनाले आम नेपालीको मन जित्ने गरी उद्धार र सहयोग गरेको सारा नेपालीको मनमा ताजै छ।

जब ‘शाही नेपाली सेना’ ‘नेपाली सेना’ मा रुपान्तरण भयो, त्यसपछि झन सेनाप्रतिको अपनत्वमा अभिवृद्धि भएको छ।
नेपाली सेनामा राजनीतिक प्रभाव न्यून हावी भए पनि आप्mनै कारणले नेपाली सेनाको ओज मरिचझैं चाउरिन लागेको महसुस हुँदैछ।

नेपाली सेनाले नयाँ सडकमा रहेको सैनिक अस्पताल भत्काएर ठूलो अस्पताल बनाउने र सर्वसाधारणलाई पनि सेवा उपलब्ध गराउने कुरा प्रकाशमा ल्याएको थियो।

नेपाली सेनाले सर्वसाधारणलाई स्वास्थ्य सेवा उपलब्ध गराउने चर्चाले आम नेपालीलाई निकै न्यानोपन महसुस गराएको थियो। सधैंजसो उपकरणहरू बिगारेर

थन्क्याइने अरू सरकारी अस्पतालको भिडभाडपूर्ण तथा सीमित स्वास्थ्य सेवा र निजी अस्पतालको महँगो स्वास्थ्य सेवाबाट आक्रान्त बनेका विशेषगरी रेफरल सेवाको आवश्यक पर्ने विरामीहरू नेपाली सेनाले ठूलो अस्पतालबाट सबैलाई सेवा दिने आशले प्रतीक्षारत थिए।

तर ती आशामुखी नेपालीहरू त्यसवेला छाँगाबाट खसेजस्तै भए जुन बेला नेपाली सेनाले अस्पतालको लागि नयाँ सडकमा विशाल भवन बनाएर अस्पताल सञ्चालन गराउनुको साटो पसल सञ्चालनका लागि व्यापारीलाई भाडामा दिने सूचना निकाल्यो।

उच्च स्तरको बृहत् स्वास्थ्य सेवा दिने विविध विभागहरूको साइन बोर्ड झुण्डिनुपर्ने ठाउँमा अहिले पसलका लागि बुकिङ खुला भएको ब्यानर झुण्डिरहेको देख्दा सर्वसाधारण नेपालीको मन कटक्क हुन्छ। नचाहँदा नचाहँदै पनि नेपाली सेनाले झुक्याएको अविश्वासको भाव पैदा भैदिन्छ।

त्यस्तै, राजधानीको छाउनी ब्यारेकले चर्चेको जमिन केही वर्ष अघिसम्म राजधानी शहरभित्रको हरियालीयुक्त सबैभन्दा ठूलो खुला क्षेत्र थियो। सोही कारण एकपटक कुनै विदेशी संस्थाले गरेको अध्ययनमा सो क्षेत्र राजधानी शहरको सबैभन्दा प्रदूषणमुक्त क्षेत्र भएको रिपोर्ट निकालेको थियो।

२०७२ सालको भूकम्पका बेला खुला क्षेत्रको अभाव भई नागरिकहरूलाई अस्थायी बसोबासमा कठिनाइ भएको महसुस गरी सरकारले उक्त क्षेत्रलाई आपत्कालीन अवस्थामा प्रयोग गर्ने उद्देश्यले छुट्टै खुलाक्षेत्रका रुपमा विकास गर्ने कुरा प्रकाशमा ल्याएको थियो।

तर त्यसको केही समयपछि सो खुला क्षेत्रमा सेनाले व्यापकरुपमा भवन निर्माण कार्य अघि बढाएर खुला क्षेत्र निमिट्यान्न पार्ने स्थितिमा पुर्याएको छ। संघीय राजधानी रहेको महानगरभित्र खुला र हरियालीयुक्त जमिनको महत्व नेपाली सेना, सरकार, महानगर पालिकाले बुझेर पनि नबुझेको जस्तो गर्नु विडम्बनापूर्ण हो।

अहिले त झन सो क्षेत्रमा स्कुलका लागि समेत भवन बनाएर भर्नाका लागि सूचना राखेको ब्यानर देखिन्छ भने सर्वसाधारणको बसोबास क्षेत्रसँग जोडिएको सीमा पर्खालमा डोजर चलाएर १३ वटा सटर कवल बनाइसकेको छ।

यसरी खुला क्षेत्र मास्दै पसल कवल बनाएको देख्ने स्थानीयवासीहरू प्रश्न गर्न थालेका छन्, ‘के नेपाली सेनालाई तलव खान नै बजेट अभाव भएर पसल चलाउन लागेको हो ?’

आमनेपालीहरू राष्ट्रिय सेनालाई सरकारका गैरसैनिक निकाय र निजी क्षेत्र पनि पुग्न नसकेको विकट ठाउँमा शिक्षा, स्वास्थ्य, पूर्वाधार विकासमा योगदान दिएको हेर्न चाहन्छन्। शहरी क्षेत्रमा त निजी क्षेत्रले बग्रेल्ती स्कुल खोलेकै छन्।

अनि सेनाले केको लागि त्यहाँ स्कुल खोल्ने ? व्यापारकै लागि ? आमनेपालीहरू नेपाली सेनालाई पसल कवलको भाडा उठाउँदै हिँडेको, व्यापार गरिरहेको रुपमा होइन, दुर्गम र अति विकट क्षेत्रमा बिग्रे–भत्केका स्कुल र अस्पताल बनाइरहेको, स्वास्थ्य सेवा नपाएकालाई सेवा उपलब्ध गराइरहेको र विदेशी सेनाले कब्जा जमाएको लिपु लेकजस्ता स्थानहरूमा सक्रिय भइरहेको हेर्न चाहन्छन्।

त्यसका लागि आम नेपालीहरू राष्ट्रिय सेनालाई आर्थिक अभाव भए छाक काटेर दिन तयार हुन्छन्, तर सेनाले संघीय राजधानी शहरका खुला क्षेत्र मासेर दोकान चलाउनु पर्ने बाध्यता आएको स्थितिलाई सहजै पचाउन सक्तैनन्।