पूर्वराजा ज्ञानेन्द्र पश्चिम बंगालतिर

विभिन्न तहको भेटघाट गर्ने तयारी

0
Shares

ईश्वरराज ढकाल,काठमाडौं। 

पूर्वराजा ज्ञानेन्द्र शाह परिवारसहित आज भारतको पश्चिमबंगाल जाँदै हुनुहुन्छ। गएको मंसिर २७ गते झापा पुग्नुभएका ज्ञानेन्द्र पूर्वरानी कोमल र निजी कर्मचारीसहित पश्चिमबंगाल त्यता जान लाग्नुभएको हो।

निजी सचिव सागर तिमल्सिना, एक निजी सुरक्षागार्ड, केही निजी कर्मचारीसहित पश्चिम बंगाल भ्रमणमा जाने शाहलाई सुरक्षा निकाय र उहाँको कारगेट सहितको टोलीले आज बिहान ११ बजे काकडभिट्टा छाड्नेछ।

पश्चिम बंगाल सरकारको सुरक्षा सहितको टोलीले उहाँलाई गन्तव्यसम्म पुर्याउने छ। कारगेट सहितको सरकारी टोलीले पश्चिमबंगाल पुर्याउने व्यवस्था मिलाइएको छ।

‘धार्मिक स्थलको दर्शन गर्ने कार्यक्रम छ’–उच्च स्रोतले भन्यो– उतैको निम्तो मान्न बंगालको सिलिगुढी, दार्जिलिङ, कालिङपोङ, सिक्किम जान लाग्नुभएको हो।

शाह दम्पतीले ती क्षेत्रका नेपाली भाषी र पश्चिम बंगालका उच्च तहका नेतालाई समेत भेट्ने कार्यक्रम रहेको छ। करिब दुई साता लामो भ्रमणको कार्यक्रम छ। झापामा पुगेर नितान्त पारिवारिक जीवन बिताइरहनुभएका ज्ञानेन्द्रले हालसम्म कसैसंग भेट गर्नुभएको छैन।

पश्चिम बंगालबाट आएपछि उहाँको भेटघाट हुनेछ। पश्चिम बंगालबाट सिलिगुढी आउने र नेपाली सुरक्षाकर्मी सहितको टोलीले झापा ल्याउने कार्यक्रम रहेको छ।

झापा फर्केलगत्तै उहाँले पूर्वका राजावादीसंँग भेटघाट गर्ने कार्यक्रम रहेको स्रोतले जनाएको छ। फागुन अन्तिमसम्म पूर्वी र मध्य तराईको भ्रमणको तयारी गरिरहनुभएका ज्ञानेन्द्रले यो वर्ष कोमलको जन्मदिन झापामै मनाउने तय गर्नुभएको छ।

फागुन ७ गतेको जन्मदिन मनाउन पूर्वराजपरिवारको सम्पूर्ण टोली झापाको हिमालयन टी गार्डेनमा पुग्नेछ।पुस २७ गते राष्ट्रिय एकता दिवस मनाउन काठमाडांै आउनुभएका ज्ञानेन्द्र माघ २ गते झापा फर्किनुभएको थियो।

झापा बसाईको क्रममा अहिलेसम्म आफू भ्रमण गर्ने क्षेत्र र व्यक्तिको लिष्ट तयार भैरहेको छ। ज्ञानेन्द्रले कोमलको जन्मोत्सब बनाउन आफन्त र केही निकटलाई निम्तो दिने कार्यक्रम रहेको छ।

यसअघि देशको विभिन्न क्षेत्रको भ्रमणको क्रममा उहाँले विभिन्न तहका नेता र कार्यकर्तासँंग भेट गर्नुभएको थियो। करिब तीन महिनाअघि उहाँले पश्चिम नेपालको बुटवल, लुम्बिनीलगायत विभिन्न जिल्लाका मठमन्दिर भ्रमण गरी आफ्नो पक्षमा जनमत बनाउनुभएको थियो।