समयमा पुल नबन्दा जाखिमपुर्ण यात्रा गर्दै सर्बसाधारण


अमृत अर्याल, स्याङजा ।
पाल्पा र स्याङजा जोड्ने मोटरेबल पुल निर्माणको सम्झौता भएको डेढ बर्ष काटिसक्दा पनि निर्माण कार्य शुरु नहुँदा यहाँका स्थानिय जोखिमपुर्ण यात्रा गर्न बाध्य छन् । सर्वसाधारणले कालिगण्डकी नदी माथी अस्थाई पुल निर्माण गरेर कष्टकर यात्रा गर्दै आएका छन् । समयमा पुल निर्माण गरिदिन यहाँका स्थानियले निर्माण व्यवसायीलाई आग्रह गरेका छन् । गत २०७५ साल असोज महिनामा शिलन्यास गरिएको पुलको डेढ बर्ष सम्म एउटा खाडल मात्र खनिएको छ ।
कुनै रहरले नभई बाध्यताले यहाँका जनताहरु कालिगण्डकी नदीमा आफैले निर्माण गरेको जोखिम पुलबाट वारी पारी गर्न बाध्य छन् । पाल्पाको बगनासकाली गाउँपालीका ६ यम्घा र कालीगण्डकी गाउँपालीका ६ स्याङ्गजा जोडने मोटरेवल पुल निर्माण हुँदा पाल्पा , स्याङ्गजा, गुल्मी लगाएत जिल्लाका स्थानियलाई आवत जावत मात्र होईन खाद्यान्न लगाएतका सामाग्री ढुवानी गर्न समेत सहज हुने स्थानियको भनाई छ ।

ठेकेदार कम्पनीले समयमा काम शुरु नगर्दा यहाँका जनताले जोखिमपुर्ण यात्रा गरिहेका छन् । कुल २५ करोड ६४ लाखको लगतमा २६ महिना भित्र सम्पन्न गर्ने गरि सपना महादेव खिम्ति दिवा जेभी कम्पनीले निर्माण कार्य शुरु गरेको भएपनी डेढ बर्षसम्म स्याङजा तर्फ खाडल मात्र खनिएको हो । उक्त मोटरेबल पुल २०० मिटर लामो र दुवै तर्फ डेढ डेढ मिटर फुटपाथ हुने गरि निर्माण गर्न कम्पनीले सम्झौता गरेको थियो ।

निर्माण कार्यको सम्झौता गर्ने तर समयमा काम नगर्ने ठेकेदार कम्पनीलाई कार्बाही गर्नुपर्ने भूमि व्यवस्था सहकारी तथा गरिबी निबारण मन्त्री पद्मा कुमारी अर्यालले बताउनुभयो । ठेकेदारको लापरवाहीले गर्दा जनताले दुःख पाएको कालीगण्डकी गाँउपालीकाका अध्यक्ष खिमबहादुर थापाको गुनासो छ । हिउँदमा जोखिमपूर्ण पुलबाट वारपार गरे पनि बर्षायाममा भने वारी र पारीको आवत जावत पूर्णरुपमा बन्द हुने गरेको अवस्था छ ।