सबल स्वरूपमा ठडिँदै काष्ठमण्डप

0
Shares

ईश्वरराज ढकाल, काठमाडौं।

दुई वर्षमा पुनर्निर्माण सम्पन्न गर्ने लक्ष्यसहित एक वर्षअघि शुरू गरेको काष्ठमण्डपको ५५ प्रतिशत काम सम्पन्न भएको छ।
काष्ठमण्डप पुनर्निर्माण समितिले काठ अभावका कारण पुनर्निर्माणमा ढिलाइ भएको काठमाडांैको सबैभन्दा पुरानो सम्पदा काष्ठमण्डप पुनर्निर्माणमा हालसम्म ४ हजार क्युफिट मात्र काठ उपयोग भएको छ।

१२ हजार क्युफिट काठ लाग्ने अनुमान गरिएको काष्ठमण्डपको पुनर्निर्माण गर्न साइजको काठ पाउन अझै समय लाग्ने देखिएको छ।

काष्ठमण्डप पुनर्निर्माण समितिका संयोजक एवं वागमती प्रदेशसभा सांसद राजेश शाक्यले अझै ८ हजार क्युफिट काठ ल्याउन बाँकी रहेको बताउँदै त्यसमध्ये हेटौंडा र धनगढीबाट थप काठ ल्याउने तयारी गरेको बताउनुभयो।

‘बजेट आएको छ, अब काठ ल्याउने प्रक्रिया शुरू गर्नेछौं।’ –संयोजक शाक्यले भन्नुभयो। पहिलो किस्ताबापत प्राप्त ५० लाख, त्यसपछि ५ करोड गरी ५ करोड ५० लाख रुपियाँमध्ये गएको असार मसान्तसम्म ३ करोड ५८ लाख रुपियाँ खर्च भइसकेको समितिले जनाएको छ।

कामपाले हिजो बिहीबार थप ५ करोड रुपियाँको चेक हस्तान्तरण गरेको छ। कामपाका मेयर विद्यासुन्दर शाक्यले सो रकम समितिका संयोजक शाक्यलाई हस्तान्तरण गर्नुभएको थियो।

‘हामी माघभित्र पहिलो तलाको छाना हाल्ने काम सम्पन्न गरी दोस्रो तलाको काम सम्पन्न गर्नेछौं।’ –समितिका संयोजक शाक्यको भनाइ छ। समितिले आउने आर्थिक वर्षभित्र सम्पूर्ण काम सम्पन्न गर्ने गरी पुनर्निर्माण गरिरहेको जनाएको छ।

कार्यक्रममा सांसद कृष्णगोपाल श्रेष्ठले काठमाडौंबासीको सानका रूपमा रहेको यो सम्पदालाई महानगरकै जनताले बनाउने चाहनाअनुसार पुनर्निर्माण भइरहेको बताउनुभयो।

सातौं शताब्दीमा निर्माण भएको मानिएको काष्ठमण्डप २०७२ वैशाख १२ गतेको भूकम्पले क्षतिग्रस्त भएको थियो। गएको यस वर्षदेखि उपभोक्ता समितिमार्फत ४० जनाभन्दा बढी कालीगडबाट पुनर्निर्माण भइरहेको छ।