राष्ट्रिय सभा सदस्य निर्वाचनमा कांग्रेस सबै ठाउँबाट पराजय


न्युज अफ नेपाल, काठमाडौं ।

राष्ट्रिय सभा सदस्य निर्वाचनमा प्रमुख प्रतिपक्षी दल कांग्रेसले सबै ठाउँमा पराजय भोगेको छ। राष्ट्रिय सभा सदस्यको निर्वाचनमा नेपाली कांग्रेसले यसअघि ७ सिट जितेको थियो । अहिले ती सबै सिट गुमाएको छ। दुई वर्षे कार्यकालका नेकपाका ९, कांग्रेसका ७, राजपाका २ र समाजवादीको १ गरी १९ सदस्यको पद फागुन २० देखि रिक्त हुँदैछ। सोही पदका लागि बिहीबार भएको राष्ट्रिय सभा सदस्य निर्वाचनमा प्रमुख प्रतिपक्षी दल कांग्रेसले सबै ठाउँमा पराजय भोगेको हो।

यससँगै अब ५९ सदस्यीय राष्ट्रिय सभामा कांग्रेसको ७ सिट गुमेको हो। दुई वर्षे कार्यकाल जितेका कांग्रेसका सुरेन्द्रराज पाण्डे, सरिता प्रसाईं, विन्दादेवी आले, बद्री पाण्डे, मुक्ताकुमारी यादव, दुर्गाप्रपसाद उपाध्याय र धनकुमारी खतिवडाको कार्यकाल यही फागुन २० गतेदेखि सकिँदैछ। २ वर्षअघि राष्ट्रिय सभाका सदस्यहरुको कार्यकाल गोलाप्रथाद्वारा तय गर्दा एक तिहाई सदस्य अर्थात् १९ जनाको दुई वर्ष परेको थियो। जसमध्ये १ जना राष्ट्रपतिले मनोनयन गर्ने व्यवस्था छ।