गाउँघरका ’होमस्टे’ आन्तरिक पर्यटकले भरिँदै,विदेशी पाहुनाको लर्को पनि उस्तै

0
Shares

नेपाल समाचारपत्र,पर्वत ।

जिल्लाका गाउँघरमा सञ्चालित होमस्टेहरू आन्तरिक पर्यटकले भरिइन थालेका छन्। शहरको व्यस्तता, उच्चाहटलाग्दो जीवनशैली र तनाव कम गर्न गाउँघरका होमस्टेमा बास बस्न जानेहरुको संख्या बढिरहेको छ।

बजारमा बसेर व्यवसाय गर्ने, उद्योग चलाउने, पेशा गर्नेलगायत हरेक दिन व्यस्त हुनेहरू तनावलाई थोरै भएपनि कम गराउन लागि ’होम(स्टे’मा बस्न थालेका छन्।

रसायनिक पदार्थको प्रयोग गरेर फलाइएका तरकारी तथा फलफूल, नक्कली स्वाद राखेर तयार पारेर प्लास्टिकका प्याकेटमा प्याकिङ गरिएका खानाको स्वादलाई बिर्सेर गाउँका प्राङ्गारिक उत्पादनको वास्तविक स्वाद चाख्ने गन्तव्यका लागि पनि ’होमस्टे’ लोकप्रिय बन्दै गएको छ।

’होमस्टेह’रूमा थकान मेट्न पुग्ने आन्तरिक पर्यटकहरू धेरै भेटिने गरेका छन्। बागलुङको बागलुङ नगरपालिका १० भकुन्डे मुलाबारीमा सञ्चालित अतिथि सत्कार ’होम(स्टे’ यतिखेर आन्तरिकका साथै विदेशी पाहुनाहरूले भरिएको छ।

भकुण्डे मुलाबारीमा नौ घरको सहकार्यबाट २०७३ सालदेखि अतिथि सत्कार होमस्टे शुरु गरिएको हो। गाउँका अन्य घरहरू पनि ’होमस्टे’प्रति आकर्षित हुँदैछन्। सञ्चालित ’होमस्टे’हरुमा स्वदेशीका साथै विदेशी पाहुनाको लर्को पनि उत्तिकै लागिरहेको सञ्चालक अप्सरा थापा बताउँछिन्।

एकपटक ’होमस्टे’मा बसेर गएका विदेशीले आफ्ना साथीभाइलाई ’होम(स्टे’को परिकार, स्वाद, सेवा र दृश्यको बारेमा जानकारी गराउने गरेका कारण अतिथि सत्कार होमस्टेमा विदेशीको आगमन बढ्दै गएको उनको भनाई छ।

‘केही दिनअघि मात्रै चीनका १७ जनाको समूहले आगो बालेर रातभर चौरमा बसी रमाइलो गरे, फेरि आउने भन्दै गए,’ उनले भनिन्, ‘अब फेरि जर्मनीबाट १८र२० जनाको समूह आउँदै छ भनेर खबर आएको छ।

उनीहरूको लागि तयारी गर्नुपर्छ। अब लोकल कुखुरा खोजेर राख्नुपर्छ, टुटाउँनै हुन्न।’ सञ्चालक समितिका अध्यक्ष खिमबहादुर थापाका अनुसार स्विडेन, चीन, जापान, जर्मनलगायतका देशका पाहुना ’होमस्टे’मा आएर रमाइलो गरी फर्किएका छन्।

’सोशल वेलफेयर एशोसिएसन’ नामक संस्थामा काम गर्ने गाउँकै एकजना व्यक्तिको माध्यमबाट विदेशीले होम(स्टेबारे जानकारी पाएर आउन थालेको उनले बताए। मुलाबारीमा मगर जातिको बसोबास रहेको छ।

’होम(स्टे’ पुगेका पाहुनालाई उनीहरूले आफ्नै मौलिक कला र संस्कृति पस्किँदै स्वागत गर्छन्। स्वदेशी होस् वा विदेशी नै किन नहोस्! भाषा बुझोस्न-बुझोस्! आफ्नै तरिकाले बोलेर स्वागत गर्छन्, गीत गाउँछन्। कहिल्यै पञ्चेबाजाको धून नै नसुनेका विदेशी पाहुनालाई छमछमी नचाउँछन् पनि।

समुद्री सतहबाट २३ सय मिटर उचाइमा रहेको मुलाबारी अतिथि सत्कार होम(स्टे क्षेत्र कोदो र मुला उत्पादनमा पनि प्रख्यात छ।

गुन्द्रुक, भटमास, मुलाबाट बनाइएको अचार, सुकुटी, चटनी, कोदोबाट बनाइने रोटी, ढिँडो, मकैका परिकार, लोकल कुखुराको मासुलगायतका परिकार समेत पाइने भकुन्डेका होम स्टेहरू पाहुनाले खचाखच भरिने गरेको छ।

साथै, गाउँमाथि रहेको ’भ्युटावर’बाट पर्वत र बागलुङ जिल्लाका डाँडाकाँडाका साथै माछापुच्छ्रे, धौलागिरी, अन्नपूर्ण, निलगिरी र मनास्लुलगायतका हिमशृंखलाको समेत दृश्यावलोकन गर्न पाइन्छ।

’होमस्टे’ सञ्चालन गर्दै आएका युवा मनोज थापाले बागलुङसहित पर्वत र म्याग्दीस्थित विभिन्न संघ(संस्थाबाट टोली बनाउँदै बस्न आउनेहरु धेरै रहेकाले हरेक दिन व्यस्त रहने बताए।