अग्निका अंगरक्षकको बयान त्यो कठिन बाटो, यो गर्विलो वर्तमान



नानीराम नेपाल, सिन्धुपाल्चोक।

नेकपाका स्थायी समिति सदस्य अग्निप्रसाद सापकोटा प्रतिनीधिसभाको सभामुखमा पदारोहण गरिरहँदा यतिबेला सामाजिक सञ्जाल फेसबुकमा युद्धकालिन अवस्थाको एउटा तस्वीर भाइरल बनिरहेको छ।

सशस्त्र युद्धका बेला विशेष कमान्डका कमान्डर अग्निप्रसाद सापकोटा प्रतिनिधिसभा सभामुख बन्ने निश्चित भइरहँदा तत्कालिन समयका उनका अंगरक्षक मेलम्ची नगरपालिका सिन्धुकोटका टीकाजंग रायमाझी सामाजिक सञ्जालमा छाइरहेका छन्।

तस्वीरमा सेतो सर्ट र सेतो ज्याकेट लगाएर सापकोटा आफ्नो सञ्चार सेटमार्फत ब्रिफिङ गरिरहेका छन्, उनीसँगै पीएलए अंकित कम्ब्याट ड्रेसमा बन्दुक भिरेर उनको पहरा गरिरहेका छन् रायमाझी।

मुलुकको उच्च संवैधानिक बरियातामा सिन्धुपाल्चोकले नेतृत्व गरिरहँदा जिल्लैभर हर्षोल्लास छ। आफ्ना युद्ध कमान्डर आज राज्यको उच्च संवैधानिक बरियतामा पुग्दा टीकाजंग रायमाझी कहाँ के गर्दैछन ? के भन्छन् उनी ? पक्कै पनि यो आम खुल्दुलीको कुरा हो।

झण्डै दुई वर्ष सापकोटाको विशेष कमान्डमा कार्यालय टिमभित्र रहेर काम गरेका टीकाजंग रायमाझीमा यतिबेला खुसीको सीमा नै छैन। आफूहरूले लडेर ल्याएको नयाँ राज्य व्यवस्थाकै कमान्डर तहमा हिजोका आफ्ना कमान्डर पुगिरहँदा उनी गर्विलो अनुभूति गर्दछन्।

‘हिजो जनयुद्धको एउटा कमान्ड गर्नुभयो, अब २०५२ सालदेखि नै माओवादी समर्थित विद्यार्थी संगठनमा आबद्ध भएर राजनीतिमा लागेका टीकाजंग रायमाझी २०५५ सालदेखि होलटायमर बनेर भूमिगत राजनीतिमा होमिए।

उनी विद्यार्थी संगठनमा रहेको सुइँको पाएपछि सेना, प्रहरीले घर घेर्न थाले। दिनदिनै सेनाले गाउँघर घेर्न थालेपछि उनी पूर्णकालिन सदस्य भएर युद्ध यात्रामा होमिए। युद्ध कमान्डर अग्निप्रसाद सापकोटासँगै उनी दर्जनौं मोर्चामा सरिक भए।

सापकोटा विशेष कमान्डमा रहँदा बनाइएको कार्यालय टिमभित्र रायमाझी पनि थिए। ‘आठ÷दश जनाको कार्यालय टिम थियो, एक जना म नै हुँ’, सापकोटासँग बिताएका कहालीलाग्दा क्षण सम्झँदै रायमाझी भन्छन्, ‘ठोकर्पा र चौतारा भिडन्तका ती क्षणहरू दिमागमा घुमिरहेका छन्।’

ठोकर्पामा नेता सापकोटालाई तीन गोली लाग्दा रायमाझी उनीसँगै थिए। रायमाझीकै शब्दमा भन्दा पटक–पटक शहीद हुनबाट जोगिएर सापकोटा आज प्रतिनिधिसभाको सभामुख बन्न लागेका हुन्।

जोखिमयुक्त इतिहास र त्यो कठिन बाटोले आज सापकोटालाई यहाँसम्म ल्याएको रायमाझी सुनाउँछन्।हिजो पूर्णकालीन कार्यकर्ता बनेर युद्धमा होमिएका उनी अहिले नेकपा मेलम्ची नगरकमीटीको सदस्य छन्।

तर हिजोकै झैँ सक्रिय राजनीतिमा उनी छैनन्। ‘खेतीकिसानीमा ब्यस्त छु, राजनीतिमा सक्रिय त छैन तर पलायन भएको चैं होइन’ –रायमाझीले भन्नुभयो।
मुलुकमा व्यवस्था फेरियो।

उनैले काँधमा बोकेको बन्दुकले राजतन्त्र ढाल्न र गणतन्त्र ल्याउनमा महत्वपूर्ण भूमिका खेलेको थियो। युद्धको नेतृत्व गरेको पार्टी सरकारमा पुग्दा पनि जनअपेक्षाअनुसार काम नभएकोप्रति उनी गुनासो गर्दछन्।

‘सरकारले काम नै नगरेको होइन तर जनअपेक्षाअनुसार काम भने भइरहेका छैनन्’, असन्तुष्टि र सन्तुष्टिको मिश्रित आवाज ओकल्छन् उनी।सभामुखको पदारोहणका क्रममा रहेका सापकोटा यसअघि दुईपटक सरकारका मन्त्री बने।

उनी मन्त्री हुँदा पनि आफ्नो फोन उठाउने गरेको रायमाझी सुनाउँछन्।
सापकोटा मन्त्री हुँदा आफू व्यक्तिगत स्वार्थ बोकेर उनलाई भेट्न नगएको रायमाझी बताउँछन्।

‘मन्त्री हुँदा पनि मेरो फोन उहाँले सिधै उठाउनुहुन्थ्यो’, रायमाझी खुसी पोख्छन्, ‘तर म मेरा लागि गरिदिनुप¥यो भनेर कहिल्यै भेट्न गइनँ।’कोही कसैका व्यक्तिगत स्वार्थपूर्तिका लागि मात्र नभई सिंगो मुलुकको हित र आम जनताका निम्ति सापकोटाले भूमिका खेल्नुपर्ने उनी बताउँछन्।

‘कोही व्यक्तिका लागि हैन, अग्नि सर देश र जनताका लागि गर्नुहोला’ –रायमाझी भन्छन्।

प्रतिक्रिया दिनुहोस्