काठमाडौं, (नेस)।
धरानमा जारी सूर्य नेपाल इस्टर्न ओपन गल्फ प्रतियोगिताअन्तर्गत दोस्रो दिन स्थानीय खेलाडी बलभद्र राईले अग्रता लिएका छन्।प्रोफेसनल खेलाडी बलभद्रले बुधबार निर्वाणा कन्ट्री क्लब हेल्थ गल्फ रिसोर्टमा भएको दोस्रो चरणको खेलमा ५ अन्डर ६५ अंक जोड्दै अग्रता लिएका हुन्।
उनले ३६ होलको खेल समाप्तिसम्म ६ अन्डर १ सय ३४ अंक बनाएका छन्। उनले पहिलो चरणमा शीर्षमा रहेका निरज तामाङमाथि १ स्ट्रोकको अग्रता लिएका छन्। एमेच्योर खेलाडी निरजले १ ओभर ७१ अंक बनाएपछि दोस्रो स्थानमा झरेका हुन्।
यसै गरी शुक्रबहादुर राईले ३ अन्डर १ सय ३७ अंक जोड्दै तेस्रो स्थानमा रहेका छन्। यही सिजनमा प्रोफेसनल खेलाडी बनेका शुक्रले ७० अंक जोडेका थिए। त्यस्तै पूर्व नम्बर एक गल्फर शिवराम श्रेष्ठले चौथो स्थानमा रहे। उनले कूल १ ओभर १ सय ४१ अंक जोडेका थिए। पाँचौं स्थानमा दिनेश प्रजापति, शिवकुमार माझी र धनबहादुर थापाले संयुक्त रूपमा साझेदारी गरेका थिए।
तर नेपालका नम्बर एक गल्फर भुवन नगरकोटी भने आठौं स्थानमा छन्। भुवनले ५ ओभर १ सय ४५ अंक बनाएर सञ्जय लामासँग साझेदारी गरेका थिए। त्यस्तै जयराम श्रेष्ठ र दीपक थापामगरले ६ ओभर १ सय ४६ अंक बनाएर १०औं स्थानमा रहेका थिए।
प्रतिक्रिया