नेपाल समाचारपत्र, काठमाडौं।
जारी पाँचौ आरबीबी एनभीए राष्ट्रिय क्लब महिला तथा पुरुष भलिबल च्याम्पियनसिप २०२० अन्तर्गत सेमिफाइनल खेल आज हुँदै छ।
बुधबार राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्ड हलमा पुरुषतर्फ क्वार्टरफाइनल खेलमा जित्दै तीन विभागीय टोली र हेल्प नेपाल स्पोर्टस् क्लब अन्तिम चारमा पुगेका हुन्।
दुई विभागिय टोली नेपाली सेनाको त्रिभुवन आर्मी क्लब (टीएसी) र सशस्त्रको नेपाल एपीएफ क्लबले पहिलो सेमिफाइनल खेल खेल्नेछ।
त्यस्तै अर्को सेमिफाइनल खेलमा विभागीय टोली नेपाल पुलिस क्लबले हेल्प नेपाल स्पोर्टस्सँग प्रतिस्पर्धा गर्नेछ।
महिलातर्फ भने एपीएफको सामना पुलिससँग हुनेछ भने टीएसीले न्यू डायमन्ड स्पोर्टस् क्लब प्रतिद्वन्द्वी पाएको छ। प्रतियोगिताको सेमिफाइनल बिहीबार हुने भएको छ।हिजो भएको पहिलो क्वाटरफाइनल खेलमा टिएसीले मणिमुकुन्द भलिबल क्लबलाई २५–१९, २५–१८, २५–१७ को सोझो सेटमा हराएको थियो।
त्यस्तै दोस्रो खेलमा एपीएफले बुद्धटोल युवा भलिबल क्लबलाई २५–१८, २५–१७, २५–११ ले पराजित गरेको थियो। तेस्रो खेलमा पुलिसले नयाँ बजार सामाजिक युवा क्लबलाई २५–११, २५–९, २५–१२ ले पाखा लगाएको थियो। चौथो खेलमा हेल्प नेपालले बुलबुले रारा क्लबलाई २५–१६, २५–२०, २५–१९ ले पन्छाएको थियो।
राष्ट्रिय वाणिज्य बैंकको प्रायोजनमा नेपाल भलिबल संघद्वारा आयोजित उक्त प्रतियोगिता माघ ३ गतेदेखि शुरु भएको हो। प्रतियोगितामा पुरुषतर्फ ११ र महिलातर्फ ७ टोलीले सहभागिता जनाएका छन्, जसमा तीन विभागीय टोली दुबै विधामा सेमिफाइनलमा पुगेका छन्।
आयोजकले प्रतियोगितामा पुरुष र महिलातर्फ पुरस्कार रकम समान राखिएको छ। दुबै विधातर्फ विजेताले २/२ लाख नगद पुरस्कार प्राप्त गर्नेछन्। त्यस्तै उपविजेता हुने टोलीले पनि दुबैतर्फ १/१ लाख नगद पुरस्कार हात पार्नेछन्। यसैगरी तेस्रो हुने टोलीका लागि दुबैतर्फ ५०/५० हजार नगद प्रदान गरिनेछ।
यस्तै प्रतियोगितामा व्यक्तिगत विधातर्फ पनि पुरस्कार रकम छुट्ट्याएको छ। महिला र पुरुषतर्फ प्रतियोगिताकै उत्कृष्ट हुने खेलाडीले समान २५÷२५ हजार नगद पुरस्कार प्राप्त गर्नेछन्। दुबैको व्यक्तिगत विधातर्फ उत्कृष्ट हुने लिबरो, सर्भर, ब्लकर, लिफ्टर, स्पाइकर र प्रशिक्षकलाई जनही १०÷१० हजार दिइनेछ।











प्रतिक्रिया