भोलिदेखि शहीद सप्ताह

0
Shares

काठमाडौं, (नेस)।

माघ १० गतेदेखि १६ गतेसम्म सप्ताहव्यापीरूपमा शहीद दिवसका कार्यक्रम हुने भएको छ। शहीद सप्ताह मूल समारोह समितिका संयोजक एवं काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यको अध्यक्षतामा बसेको बैठकले सप्ताहव्यापी कार्यक्रम तय गरेको हो।

कार्यक्रमअनुसार १० गते टेकु खरिबोटमा शुक्रराज शास्त्रीले अमरत्व प्राप्त गर्नुभएको स्थानमा श्रद्धाञ्जलीसभाबाट कार्यक्रमको थालनी हुनेछ।

१३ गते सिफलस्थित धर्मभक्त माथेमाले अमरत्व प्राप्त गर्नुभएको स्थानमा र १५ गते शहीद गंगालाल श्रेष्ठ र दशरथ चन्दले अमरत्व प्राप्त गर्नुभएको स्थान शोभा भगवतीमा श्रद्धाञ्जलीसभा हुनेछ।

सप्ताहव्यापी कार्यक्रमको अन्तिम दिन १६ गते शान्तिवाटिकामा भेला भएर शहीदको तस्वीर राखिएको बग्गीसहितको प्रभातफेरी शहीद पार्क लैनचौरमा पुगेर श्रद्धाञ्जलीसभामा परिणत हुनेछ।

बैठकमा संयोजक एवं महानगरका प्रमुख शाक्यले विगतमा शहीद परिवारलाई महानगरले प्रदान गर्ने गरेको सहयोगलाई निरन्तरता दिने प्रबन्ध मिलाउनुपर्ने बताउनुभयो।

उहाले भन्नुभयो– ‘प्रजातन्त्र प्राप्तिका लागि १९९७ सालमा सहादत हुनुभएका शहीदहरूले प्राणदण्ड पाउनुभएको ठाउमा पूर्णकदको सालिक राख्ने हामीले निर्णय गरिसकेका छौं, यस वर्ष ती सालिक प्रतिस्थापन हुनेछन्।’

उहाले शहीद धर्मभक्त माथेमाको स्मृतिमा वडा २३ ओमबहालमा पार्कको शुभारम्भ गर्ने बताउनुभयो। उहाले शहीद गंगालाल श्रेष्ठका नाममा सञ्चालनमा रहेको गंगालाल ह्दयरोग अस्पतालमा अक्सिजन प्लान्ट स्थापनाका लागि सहयोग गरिने जानकारी दिनुभयो।

उहाले भन्नुभयो– ‘शहीद धर्मभक्तका नाममा ‘शहीद धर्मभक्त मानव सेवा आश्रम’ सञ्चालन गर्ने हामीले निर्णय गरिसकेका छौं, बूढानीलकण्ठमा प्रक्रिया शुरू भइसकेको छ।’

बैठकमा बोल्दै कामपाका प्रशासकीय अधिकृत केदार न्यौपानेले शहीद दिवसका कार्यक्रमलाई परम्परा धान्नका लागि मात्र नभई यसको महत्व झल्काउनुपर्ने बताउनुभयो।

बैठकबाट सरसफाइको जिम्मेवारी वातावरण व्यवस्थापन विभागलाई दिइएको छ भने सभा हुने स्थानको मर्मत सम्भार तथा रंगरोगन गर्ने कामको जिम्मेवारी भौतिक पूर्वाधार विकास विभागलाई दिइएको छ। कार्यक्रमस्थल तथा प्रभातफेरीको रुट व्यवस्थापनको जिम्मा नगर प्रहरी महाशाखालाई दिइएको छ।

मूल समारोह समितिको सदस्यहरूमा उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत केदार न्यौपाने, सहसचिव राजेश्वर ज्ञवाली, चार शहीदले सहादत प्राप्त गर्नुभएको वडाका अध्यक्षहरू (वडा नं. ७, १२, १५ र २६) हुनुहुन्छ।

त्यस्तै विभागीय प्रमुख, आयोजना तथा कार्यक्रम प्रमुख, नेपाली सेना, सशस्त्र प्रहरी, गृह मन्त्रालय, नेपाल स्काउटका प्रतिनिधि समितिको सदस्य हुनुहुन्छ।