एनआरएनलाई नेचुरोपेथी अस्पतालमा छुट

0
Shares

काठमाडौं, (नेस)।

काठमाडौं नेचुरोपेथी अस्पताल वसुन्धराले गैरआवासीय नेपालीलाई उपचारमा विशेष छुट दिने सम्झौता गरेको छ।गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्को काठमाडौंको बालुवाटारस्थित केन्द्रीय कार्यालयमा बुधबार गैरआवासीय नेपाली संघका प्रमुख कार्यकारी अधिकृत हेमन्तकुमार दवाडी र काठमाडौं नेचुरोपेथी अस्पतालका अध्यक्ष गणेश पाण्डेबीच भएको सम्झौतामा अस्पतालको सेवामा १० देखि २५ प्रतिशतसम्म छुट दिने उल्लेख छ।

सम्झौताअनुसार अस्पतालको सम्पूर्ण उपचारमा १० प्रतिशत, भर्ना भएर बस्ने बिरामीका लागि शøयामा १० प्रतिशत, चिकित्सक परामर्श शुल्कमा २५ प्रतिशत र स्पासम्बन्धी सम्पूर्ण सेवामा १० प्रतिशत छुटको व्यवस्था गरिएको अस्पतालका अध्यक्ष पाण्डेले जानकारी दिनुभयो।

सम्झौता समारोहमा एनआरएनएका अध्यक्ष कुमार पन्त, उपाध्यक्ष अर्जुनकुमार श्रेष्ठ, सचिव गौरीराज जोशी, अस्पतालका कार्यकारी निर्देशक शारदा गैरे, मेडिकल निर्देशक डा. यञ्जन गैरे, प्रबन्धक विनादेवी घिमिरेलगायतको उपस्थिति थियो।

यो सम्झौताबाट विश्वभर छरिएका गैरआवासीय नेपाली संघका ८० हजार सदस्य र उनीहरूका परिवार लाभान्वित हुने एनआरएनएका उपाध्यक्ष अर्जुनकुमार श्रेष्ठले बताउनुभयो।

अत्याधुनिक सेवा–सुविधासहित काठमाडौंको वसुन्धरामा स्थापित काठमाडौं नेचुरोपेथी अस्पताल आधुनिक प्रविधिका माध्यमबाट बिना अप्रेसन र बिना औषधी नैै उपचार गरिने अत्याधुनिक प्राकृतिक अस्पताल हो।

सो अस्पतालमा औषधीविहीन चिकित्सा पद्धतिहरू प्राकृतिक चिकित्सा, फिजियोथेरापी, मसाजथेरापी, हाइड्रोथेरापी, अकुपन्चर तथा अकुप्रेसर, योगथेरापी, भोजन परामर्श साथै जीवनशैली क्लिनिकको माध्यमबाट उपचार गरिन्छ।

अस्पतालका मेडिकल निर्देशक डा. यञ्जन गैरेका अनुसार, अस्पतालमा विशेष गरी दीर्घकालीन रोगहरू कम्मर, गर्दन घुडा दुखाइ, प्यारालाइसिस, नसा च्यापिने तथा नसासम्बन्धी समस्या, बाथ, हड्डी खिइने तथा हाडजोर्नीसम्बन्धी समस्या, पिनास, माइग्रेन, टाउको दुखाइ, तनाव, डिप्रेसन तथा अन्य मानसिक समस्या, मधुमेह, उच्च रक्तचाप, ग्यास्ट्रिक, पायल्स, कब्जियत, दम, खोकी, महिनावारी गडबडी, मोटपना आदि अव्यवस्थित जीवनशैलीका कारण आउने रोगको निदान गरिन्छ।