काठमाडौं, (नेस)।
भारतीय राजदूतावासका कार्यवाहक राजदूत डा. अजय कुमारले थानकोटस्थित अरविन्द आश्रम विद्यालयको नवनिर्मित भवनको उद्घाटन गर्नुभयो। सन् १९९३ मा अरविन्द योग मन्दिरले स्थापना गरेको सो विद्यालयले करिब २ सय ६० विद्यार्थीलाई माध्यमिक तहको शिक्षा प्रदान गरिरहेको छ।
विद्यालयमा अधिकांश विद्यार्थी गरिब, विपन्न र अनाथ छन्, जसका लागि विद्यालयले निःशुल्क शिक्षा तथा छात्रावासको व्यवस्था गरेको छ।
शहरी विकास तथा भवन निर्माण विभागले उक्त परियोजनाको कार्यान्वयन गरेको हो। भारत सरकारको करिब पौने ३ करोड रुपिया अनुदान सहयोगमा निर्मित तीन तले नया संरचनामा ११ वटा कक्षा कोठा, तीनवटा प्रयोगशाला, चारवटा भण्डार कक्ष तथा दुई कर्मचारी कक्ष छन्।
यसका अतिरिक्त लेखा, प्रशासन, रेकर्ड, पुस्तकालय, प्रधानाध्यापक, व्यक्तिगत सहायक, परीक्षा, बहुउद्देश्यीय हल र फर्निचरका लागि एक–एक कोठाको व्यवस्था रहेको छ।
नवनिर्मित संरचनाले विद्यार्थीहरूको सिकाइ वातावरणलाई अभिवृद्धि गर्ने अपेक्षा गरिएको छ। शिक्षाको क्षेत्रमा पूर्वाधार विस्तार गर्ने नेपाल सरकारको प्रयासलाई पूरा गर्ने सहयोगीका रूपमा रहेको यस परियोजनासग जोडिन पाएकामा भारत सरकार खुसी रहेको कार्यवाहक राजदूत अजयकुमारले बताउनुभयो।











प्रतिक्रिया