नेपाल समाचारपत्र, लमजुङ।
लमजुङमा भूकम्पपछिको पुनःनिर्माणको लाभग्राही सूचीमा सूचीकृत भएका १७ घरपरिवारले अनुदान रकम फिर्ता गरेका छन्। पूर्ण क्षतिको विवरणमा परेर घर निर्माणका लागि भन्दै पहिलो किस्ता लगेर घर नबनाएकाले उक्त रकम फिर्ता गरेका हुन्।
भूकम्प पुनःनिर्माण जिल्ला आयोजना कार्यान्वयन एकाइ अनुदान व्यवस्थापन तथा पूर्वाधार विकास कार्यालयका अनुसार फिर्ता गर्नेमा सबैभन्दा बढि राइनास नगरपालिकाका रहेका छन्।
कार्यालयका प्रमुख जगदिश मिश्रका अनुसार राइनासबाट ६ , बेसीशहरबाट ४, मध्यनेपाल नगरपालिकाबाट २, दुधपोखरी गाउँपालिकाबाट ३ , दोर्दी गाउँपालिकाबाट २ जनाले पहिलो किस्ता लगेर पनि घर निर्माण नगरेकाले रकम फिर्ता गरेका हुन्।
कार्यालयका प्रमुख मिश्रका अनुसार राष्ट्रिय पुननिर्माण प्राधिकरणले निश्चित समयभित्र घर निर्माण गरिसक्नु पर्ने भनी समयसीमा तोकिएर सबै लाभग्राहीहरूलाई आग्रह गरेपछि जिल्लामा १७ जना लाभग्राहीले निर्माण गर्न नसकेको कारण जनाउँदै निवेदनसहित रकम फिर्ता गरेका हुन्।
जिल्लामा रहेका १४ हजार ३३ लाभग्राहीमध्ये ६ हजार एक सय ३ जनाले आवास निर्माण सम्पन्न गरी तेस्रो किस्ता बापतको रकमसमेत लिएको कार्यालयका प्रमुख मिश्रले बताउनुभयो। लाभग्राहीमध्ये १३ हजार ४ सय १६ जनाले पहिलो किस्ता लगेका छन् भने ९ हजार २ सय ४३ जनाले दोस्रो किस्ता लिइसकेका छन्।
भूकम्प प्रभावितहरुले आवास निर्माणका लागि पहिलो किस्ताबापत पाएका ५० हजार रकम फिर्ता गरेका हुन्। चार नगरपालिका र चार गाउँपालिका रहेको लमजुङमा दुधपोखरी गाउँपालिकामा सबैभन्दा बढी क्षति भएको थियो।
दुधपोखरी गाउँपालिकामा २ हजार ४ सय ४७ घर पुर्ण क्षति भएको थियो। जसमध्ये दुई हजार ३ सय ५६ लाभग्राहिले पहिलो किस्ता लिएका छन् भने एक हजार ९ सय ३६ लाभग्राहिले दोस्रो किस्ता लिएका छन्।
त्यस्तै एक हजार १ सय ३२ भुकम्पपिडितले तेस्रो किस्ता लिइसकेको आयोजनाका प्रमुख मिश्रले बताउनुभयो। जिल्लामा रहेका १४ हजार ३३ लाभग्राहीमध्ये ५ सय ५२ जना जोखिम वर्गमा समावेश गरिएको छ।
भूकम्पपीडितको नाम लिस्टमा परेका लाभग्राहीहरूले घर नबनाई पहिलो किस्ताबापत लिएको ५० हजार रूपैयाँ फिर्ता गरेका हुन्।











प्रतिक्रिया