नेपाल समाचारपत्र, हेटौंडा।
समुद्री सतहबाट करिब २ हजार ४ सय मिटर उचाईंमा पर्ने थाहानगर–४, सीमभञ्ज्याङ दामनको रिसोर्टभित्र बेहोस अवस्थामा भेटिएका आठ जना भारतीय नागरिकको उपचारका क्रममा काठमाडौंमा मृत्यु भएपछि छानबिनका लागि सरकारले समिति गठन गरेको छ।
दामनस्थित एभरेष्ट पानोरमा रिसोर्टमा ८ भारतीय पर्यटक एउटै कोठामा मंगलबार बिहान बेहोस अबस्थामा भेटिएका थिए। सँस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका अनुसार पर्यटन विभाग, होटल शाखाका निर्देशकको संयोजकत्वमा समिति गठन गरिएको छ।
समितिमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, पर्यटक प्रहरी र होटल संघ नेपालका प्रतिनिधिलाई सदस्य तोकिएका छन्। पर्यटन विभाग, होटल शाखाका अधिकृतले सदस्य सचिवको जिम्मेवारी सम्हाल्ने छन्।
विभागका अनुसार घटनामा रिसोर्टले निर्धारित मापदण्ड पूरा गरे/नगरेको सम्बन्धमा अध्ययन हुने र पर्यटक सुरक्षामा रिसोर्टका तर्फबाट कमजोरी भए/नभएबारे अध्ययन हुने जनाइएको छ।
दामनको एभरेस्ट पानोरमा रिसोर्टमा मृत्यु भएका ८ पर्यटकको पोस्टर्माटम भएको छ। ह्याम्स हस्पिटल पुर्याइएका उनीहरुको शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगन्ज पुर्याइएको थियो।
शव परीक्षणका लागि कागजी प्रक्रिया पूरा भएर पोस्टमार्टम भएको जनाइएको छ। पोस्टमार्टममा संलग्न डा. हरिहर वस्तीका अनुसार उनीहरु सबैको अक्सिजनको कमीका कारण निसास्एिर मृत्यु भएको हो।
मृत्यु हुनेमा भारत केरलाका ३८ वर्षीय रञ्जितकुमार, उनकी पत्नी ३४ वर्षीया इन्द्रलक्ष्मी र उनीहरुका छोरा ५ वर्षीय वैष्णव रञ्जित रहेको प्रहरीले बताएको छ।
उनीहरुसँग एउटै कोठामा सुतेका ३७ वर्षीय प्रवीणकृष्ण नायर र उनकी पत्नी ३२ वर्षीया शाक्य शशी, उनीहरुका छोरा ५ वर्षीय अभी, छोरीहरु ७ वर्षीया अर्चना र ९ वर्षीया बन्द्राको मृत्यु भएको हो। उनीहरुको शव बिहीबार भारत लगिने बताइएको छ।
रिसोर्टमा ४ वटा कोठा बुक गरेर बास बसेका उनीहरुको १५ जनाको टोली ८ जनाको शव लिएर घर जानुपर्ने स्थिति सिर्जना भएको छ। नेपाल घुमेर सँगै घर फर्कने योजना बनाएर आएका ७ साथीले भ्रमण टोलीका ८ सदस्यलाई मकवानपुरबाटै बिदाइ गर्नुपरेको छ।
सँगै आएका सात जना आफन्तको मृत्युको शोक बोकेर मंगलबार काठमाडौं फर्किएका थिए।हेलिकोप्टरबाट उद्धार गरेर उपचारका लागि काठमाडौंको ह्याम्स अस्पताल पुर्याइएका उनीहरुलाई चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक ललनकुमार कुर्मीले बताउनुभयो।
भारतको केरलाबाट दामन–पालुङ क्षेत्र घुम्न आएका १५ जनाको टोलीमा एउटा कोठामा सुतेका उनीहरु मंगलबार विहान अचेत भेटिएका थिए। अर्को कोठामा सुतेका भने सकुशल छन्।
भेन्टिलेसन नभएको कोठामा हिटर बालेर सुतेकाले घटना भएको हुन सक्ने जिल्ला प्रहरी कार्यालय मकवानपुर प्रहरी निरीक्षक कुर्मीले जानकारी दिनुभयो।
वागमती प्रदेशका प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका नेता इन्द्रबहादुर बानियाँले मकवानपुरको थाहानगर–४ स्थित दामनको रिसोर्टमा निसास्सिएर मृत्यु भएका ८ जना पर्यटकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घटनाको सत्यतथ्य छानबिनका लागि संघीय र प्रदेश सरकारसँग माग गर्नुभएको छ।











प्रतिक्रिया