गीत सुन्दै शौच गर्नुस्

0
Shares

नेपाल समाचारपत्र, बाँके।

गीत सुन्दै शौच गर्ने बानी छ ? छ भने जानुस्, नेपालगञ्जको धम्बोझीचोकमा। विदेशी संस्थाले धम्बोझीमा गीत सुन्दै शौच गर्ने स्वचालित शौचालय बनाइदिएको छ।दिसा गर्न बस्नुस्। बटन थिच्नुस्। मज्जाले गीत बज्छ।

गीत सुनेर दिसा गर्ने बानी परेकालाई आफ्नो मोबाइलमा गीत बजाउन पर्दैन। दिसा गरिसकेपछि हात धुन पाँच तारे होटलको जस्तो व्यवस्था गरिएको छ। हात थाप्नुस्, साबुन पानी आउँछ।

धम्बोझी चोकमा बनाइएको अपाङ्गमैत्री स्वचालित शौचालयको सोमबार अपरान्ह नेपालगञ्जका मेयर डा. धवलशमशेर राणाले उद्घाटन गर्नुभयो। मेयर राणाले स्वचालित शौचालय सञ्चालनमा ल्याउनु भन्दा पनि त्यसको सही सदुपयोग र जतन हुनुपर्नेमा जोड दिनुभयो।

सधैं सफा राख्नु पर्यो, सेवा लिनेले आफ्नैजस्तो सम्झिदिनु पर्यो, राणाले भन्नुभयो, लाखौं रूपिरेर बनेका यस्ता संरचनाको जतन गर्नु नगरवासीको दायित्व हो।’

नेपालगञ्ज उपमहानगरपालिकाका वातावरण इन्जिनियर प्रकाश डिसीका अनुसार, एसएनभी नेदरल्याण्ड विकास कोषले सञ्चालन गरिरहेको स्वास्थ्य र विकासका लागि नगर सरसफाई तथा स्वच्छता कार्यक्रमअन्तर्गत ४६ लाख ३६ हजार रूपियाँको लागतमा स्वचालित शौचालय निर्माण गरिएको हो।

नेदरल्याण्ड विकास नियोगले यसअघि नै चारबाहिनीचोक र मासुमण्डी नजिक ८१ लाख १६ हजार रूपैयाको लागतमा दुईवटा सुलभ शौचालय निर्माण गरे नेपालगञ्ज उपमहानगरपालिकालाई हस्तान्तरण गरिसकेको छ।

धम्बोझीको शौचालय उद्घाटनमा नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १२ का वडा अध्यक्ष बुद्धिसागर सुवेदी, वडा नम्बर २ का अध्यक्ष सुनिल सिंह हमाल, सुशासन समितिका संयोजक नरबहादुर विष्टलगायत उपस्थित हुनुहुन्थ्यो।

नेपालगञ्ज बजारभित्र एक दर्जन सार्वजनिक शौचालय पुगेका छन्। त्यसमा पछिल्लो पटक बनेका शौचालय अत्याधुनिक हुन्। बजारमा निस्किने यात्रु र पसलेलाई समेत दिसा, पिसाव लाग्दा समस्या हुने गरेको भन्दै चर्को विरोध भइरहेको बेलामा नेपालगञ्जमा अत्याधुनिक शौचालय बनिरहेका छन्।