प्राविधिक शिक्षा संचालनार्थ महायज्ञ

0
Shares

अमृत अर्याल, स्याङ्जा ।

विभिन्न उदेश्य राखेर शैक्षिक विकासका लागि महायज्ञ गर्ने प्रचलन पछिल्लो समय बढ्दो छ । महायज्ञबाट आर्जित रकमलाई शैक्षिक गुणस्तर सगै भौतिक विकासमा खर्च गर्न विद्यालयहरुले यस्ता क्रियाकलापलाई जोड दिन थालेका छन् ।

सरकारी तवरबाट खासै चासो नभएको थाहा पाएपछि स्थानीयहरु महायज्ञ संचालन गरेर शैक्षिक विकासमा लाग्न थालेका छन् । यस्तै प्रचलनलाई पछ्याउदै भीरकोट नगरपालिका ५ स्वरेक सिम्ले स्थित जनप्रिय माध्यमिक विद्यालयले शैक्षिक स्तरोन्नती तथा प्राविधिक शिक्षालय स्थापनाका लागि ७ दिने विराट महायज्ञको आयोजना गरेको छ । यो महायज्ञ माघ १४ गते सम्म संचालन हुने श्रीमदभागवत धनधान्याञ्चल ज्ञान महायज्ञ २०७६ का निर्देशक तथा वडा अध्यक्ष यामप्रसाद अधिकारी(लक्ष्मण) ले जानकारी दिनुभयो ।

प्रविधिक शिक्षाका लागि बाहिर जानुपर्ने बाधयतालाई मध्यनजर राखेर यो महायज्ञ संचालन गरेका छौं निर्देशक अधिकारीले भन्नुभयो,“यो महायज्ञबाट उठेको रकमले गाउमै प्रविधिक शिक्षालय स्थापना गर्नेछौं ।” जसले गर्दा बाहिर गएर पढ्नुपर्ने बाध्यतालाई केही हदसम्म कम हुने विश्वास गरिएको अधिकारीले बताउनुभयो । सरकारले प्रविधिक शिक्षालय स्थापना गर्ने घोषणा मात्रै गर्ने तर काम नहुने हुँदा यहाँका विद्यार्थी प्रविधिक शिक्षाका लागि ठुलो रकम खर्च गरेर बाहिर पढ्न जानुपर्ने बाध्यतालाई ध्यानमा राखेर महायज्ञ गर्नुपरेको अधिकारीको भनाई छ । महायज्ञबाट ५० लाख बचत गर्ने लक्ष्य आयोजकको छ ।

स्थानीय समाजसेवीहरुको पहलमा २०१८ सालमा स्थापना गरिएको विद्यालयमा २०६५ सालबाट मावि कक्षा संचालन हुदै आएको छ । स्थापनाको लामो समय वितिसक्दा पनि विद्यालयले भने जस्तो सफलता पाउन सकेन महायज्ञ मुल आयोजक समितिका संयोजक चोलाकान्त पौडेलले भन्नुभयो,“अब केही न केही गर्नुपर्छ भन्ने उदेश्यले महायज्ञ आयोजना गरिएको हो ।” विद्यालयको आर्थिक पक्षलाई मजबुतीकरण बनाउदै प्राविधिक शिक्षालय संचालन गर्ने अठोट रहेको पौडेलले बताउनुभयो । महायज्ञमा पण्डित देवनयन नारायण लामिछाने प्रमुख वाचक रहनुभएको छ ।

महायज्ञको भीरकोट नगर प्रमुख छाँयाराम खनालले उद्घाटन गर्नुभएको छ । महायज्ञबाट विद्यालयले लिएको लक्ष्यप्राप्तिमा सफलता मिल्नेमा खनालले विश्वास व्यक्त गर्नुभयो । नगरपालिकाबाट पनि प्राविधिक शिक्षाका लागि सहयोग हुने नगरप्रमुख खनालले आयोजकलाई विस्वास दिलाउनुभयो । स्याङ्जामा विद्यालयको शैक्षिक विकास भन्दै अहिले सम्म महायज्ञ गरिएपनि उदेश्य अनुसारको काम भने गरेको देखिएको छैन । तर यो विद्यालयले उदेश्य अनुसारको काम गर्नेमा स्थानीयहरुले विश्वास गरेका छन् ।

महायज्ञ उद्घाटन गर्नु अगाडी विभिन्न आमासमुह, युवा क्लव, बुद्धिजिवी, विद्यार्थी लगायतले र्‍याली निकालेका थिए । जिल्लाकै प्रशिद्ध धार्मिक स्थल छायाक्षेत्र मन्दिरबाट जल लगेर महायज्ञ उद्घाटन गरिएको आयोजकले जनाएको छ ।