प्याब्सनले पर्सीबाट दुई दिने राष्ट्रिय सम्मेलन गर्ने


न्युज अफ नेपाल, काठमाडौं ।

निजी तथा आवासीय विद्यालय अर्गनाईजेशन नेपाल(प्याब्सन)ले विद्यालय शिक्षा सम्बन्धी राष्ट्रिय सम्मेलन आयोजना गर्ने भएको छ । यही माघ ९ र १० गते राजधानीमा आयोजना हुने सम्मेलनमा नेपालमा शैक्षिक संस्थाहरुले संस्थागत तथा शैक्षिक जनशक्ति उत्पादनका क्षेत्रमा गुणस्तरीय व्यवस्थापन, ब्यवसायिक विकास तथा शैक्षिक उत्पादनमा गुणस्तर शिक्षा कायम गर्ने विषयमा छलफल हुने भएको छ । प्याब्सनले आज राजधानीमा आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष टिकाराम पुरीले सम्मेलनमा देशको समग्र शिक्षाको विषयमा छलफल हुने जानकारी दिनुभयो । उहाले विश्वमा कुन मुलुकले कस्तो किसिमको शिक्षा दिएको छ, नेपालमा कस्तो शिक्षाको अपरिहार्यता छ भन्ने विषयमा छलफल हुने बताउनुभयो ।
पहिलोपटक आयोजना गर्न लागेको सम्मेलनमा नेपाल लगायत क्यानडा, भारत, फिनल्याण्ड, बेलायत लगायत विश्वका विभिन्न कमुलुकको शिक्षा पद्धतीको बारेमा कार्यक्रम प्रस्तुत हुनेछ । सरकारी निकायका, प्रतिनिधि, विश्वविद्यालयका प्राध्यापक, एन प्याब्सन, अध्येयता, अनुसन्धान कर्ता , निजी विद्यालयका संचालक, प्रिन्सिपल, सामुदायीक विद्यालयका प्रअ, शिक्षक तथा नीतिमा काम गर्ने विभिन्न निकायका प्रतिनिधिहरुको सहभागिता रहने समेलनमा विश्वका विभिन्न देशले अपनाएका शैक्षिक मुद्धा र विषयको बारेमा छलफल हुनेछ । स्वदेशी र विदेशी गरी करिब ३ सयको सहभागिता रहने सम्मेलनमा स्वामी आनन्द अरुणले आध्यात्मिक मुल्य मान्यता, प्राडा वालकृष्ण लुईटेलले सिस्टम एजुकेशन, डा. शुसिल कडेलले विद्यालयमा मनोविज्ञान, डा मेदिनी लामिछाने, डा.विष्णुराज कार्की, हेमन्त दाहाल, वारवारा वटरअर्थ, डा राजेश टायल, शुसिल उप्रेती, डा.रबरटसन, डा लक्ष्मण ज्ञवाली, डा. हरी लम्साल, पवित्रा लिम्बु र नरबहादुर कार्की लगायतले विभिन्न विषयगत कार्यपत्र प्रस्तुत गर्नुहुने अध्यक्ष पुरीले जानकारी दिनुभयो ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको समन्वय र काठमाडौं विश्वविद्यालय सकुल अफ एजुकेशनको प्राविधिक सहयोग रहने सम्मेलनको सहआयोजक करियर ट्रेडिङ फाउन्डेशन(सिटिएफ) रहेको पत्रकार सम्मेलनमा जानकारी दिइयो । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले उद्घाटन गर्नुहुने कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणी पोखरेलले मन्त्रालयले गरेको पछिल्लो गतिविधिको बारेमा जानकारी दिनहुने कार्यक्रम रहेको छ ।
सिंगो विद्यालय शिक्षामा सरोकार राख्ने सबै तहका व्यक्तिलाई आमन्त्रण गरिएको सम्मेलनमा विशेष गरी नेपालमा प्राविधिक शिक्षा र प्रविधिको बारेमा गहन विश्लेषण हुने अध्यक्ष पुरीले जानकारी दिनुभयो । सम्मेलनमा सातै प्रदेशका शिक्षक महासंघका प्रतिनिधि, सरकारी विद्यालयका विद्यार्थीको समेत सहभागिता रहनेछ । सम्मेलनमा उठेका विषयलाई अब बन्ने शिक्षा ऐनमा समावेश गर्न सहयोग पुग्ने समेत आयोजकले जनाएका छन् ।