शीतलहर पीडितलाई कम्बल

0
Shares

केही दिनदेखि तराईमा बढेको शीतलहर र देशभरि नै परेको पानीका कारण चिसो अचाक्ली बढेको छ। शीतलहरका कारण तराईको जनजीवन त झनै अस्तव्यस्त बनेपछि ललितपुरका समाजसेवी आमाछोरीले सर्लाहीका स्थानीय बासिन्दालाई कम्बल र न्यानो कपडा बाँडेर फर्केका छन्।

शीतलहर र चिसोका कारण विशेष गरी बिरामी, वृद्धवृद्धा र केटाकेटीलाई निकै असर पारेको छ। नेपाल क्यान्सर हस्पिटल एन्ड रिसर्च सेन्टर हरिसिद्धि ललितपुरकी निर्देशक, उपचारका लागि सहयोगी हातहरू संस्थाकी अध्यक्ष र नेपाल क्यान्सर सहयोग समूहकी संयोजक स्वरूपा श्रेष्ठ र उनकी ७५ वर्षीया समाजसेवी आमा सुशीला प्रधान श्रेष्ठले सर्लाही जिल्लाको विष्णु गाउँपालिका–६ सिमरामा गई त्यहाँका बासिन्दालाई १ सय १० थान कम्बल र केटाकेटीका लागि न्यानो लुगा वितरण गरेका थिए।

कम्बल र न्यानो लुगा लिन ठूलो संख्यामा केटाकेटीदेखि महिला र वृद्धवृद्धासमेत आएका थिए। केही दिनअघि शीतलहर र चिसोका कारण सो गाउँपालिकामा दुई जनाले अकालमा ज्यान गुमाएको समाचार भएपछि आमाछोरी नै कम्बल र न्यानो लुगा लिएर सर्लाही पुगेका थिए।

सर्लाहीका स्थानीय समाजसेवी रामगणेश महतको सहयोगमा रोटरी क्लब अफ यल तथा नेपाल महिला चेम्बरको सहकार्यमा श्रेष्ठ आमाछोरीले कम्बल र न्यानो लुगा वितण गरेका थिए।

नेपाल एयरलाइन्सकी पूर्वकर्मचारीसमेत रहनुभएकी समाजसेवी सुशीला प्रधान श्रेष्ठले नेपाल क्यान्सर हस्पिटल हरिसिद्धि ललितपुरमा उपचारका लागि आएका विपन्न क्यान्सर रोगी महिलाहरूको उपचारमा ‘उपचारका लागि सहयोगी हातहरू’ संस्थामार्फत आर्थिक सहयोग गर्दै आइरहेकी छिन् भने नेपाल क्यान्सर हस्पिटलकी निर्देशक स्वरूपाले क्यान्सर रोगबारे जनचेतना फैलाउने र नेपाल क्यान्सर अस्पतालबाट विशेषज्ञ स्वास्थ्यकर्मी लगेर विभिन्न ठाउँमा निःशुल्क क्यान्सर परीक्षण शिविर सञ्चालन गर्नुका साथै क्यान्सर पहिचान गरिएका विपन्न क्यान्सर रोगीको निःशुल्क र सहज उपचारमा आवश्यक सहयोग गर्दै आउनुभएको छ।

यस्ता काम गर्दागर्दै समाजमा रहेका दीनदुःखीलाई सहयोग गर्न पाउँदा आफूलाई नेपाली भएकोमा खुुसी लाग्ने स्वरूपा बताउनुहुन्छ। उहाँ भन्नुहुन्छ– ‘सहयोग भन्नेवित्तिकै विदेशीले मात्र गर्छन् भन्ने होइन, आफ्ना देशका नागरिकलाई आफ्नै देशका सक्ने नागरिकले सहयोग गर्ने हैसियत राख्नुपर्छ।’