मधुसूदन रायमाझी, काठमाडौं।
प्रतिनिधिसभामा रिक्त सभामुख पदका लागि यही माघ १२ गते निर्वाचन हुने भएको छ। सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टीले अग्नि सापकोटालाई सभामुख बनाउने निर्णय गरेसँगै निर्वाचन प्रक्रिया अगाडि बढेको छ।
उपसभामुख डा. शिवमाया तुम्बाहाम्फेले सोमबार बसेको संसद् बैठकमा राजीनामा दिने घोषणा गरेसँगै निर्वाचन प्रक्रिया अगाडि बढेको हो।
सोमबार दोस्रोपटक बसेको प्रतिनिधिसभा बैठकमा सभामुखको हैसियतमा रहनुभएका ज्येष्ठ सदस्य महन्थ ठाकुरले सभामुखको निर्वाचनबारे जानकारी गराउनुभएको थियो।
उहाँले सभामुखको निर्वाचन कार्यतालिका सार्वजनिक गर्न संघीय संसद् सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराईलाई निर्देशन दिनुभयो।
ज्येष्ठ सदस्य ठाकुरले उपसभामुख तुम्बाहाम्फेले दिनुभएको राजीनामा पढेर बैठकमा जानकारी गराउनुभएको थियो। संसद् बैठक सञ्चालन गर्नुअघि ज्येष्ठ सदस्य ठाकुरले राष्ट्रपति विद्यादेवी भण्डारीबाट शपथ लिनुभएको थियो।
संघीय संसद् सचिवालयले सार्वजनिक गरेको निर्वाचन कार्यतालिकाअनुसार आज मंगलबार सभामुख पदका लागि उम्मेदवारी दर्ता हुनेछ। यसका लागि बिहान ११ देखि २ बजेसम्म उम्मेदवारी दर्ता गर्ने समय तोकिएको छ।
मंगलबार अपरान्ह २ः३० बजे उम्मेदवारको नामावली प्रकाशन गरिनेछ। नेकपाका तर्फबाट सापकोटाले उम्मेदवारी दर्ता गराउनुहुनेछ।
संघीय प्रतिनिधिसभामा २७२ जना सांसद रहेका छन्। सभामुख निर्वाचनका लागि नेकपासँग स्पष्ट बहुमत छ।प्रतिनिधिसभाको उक्त बैठक माघ १२ गते अपरान्ह ३ बजे बोलाइएको छ।
उपसभामुख राजपालाई
सभामुख चयन भए पनि नेकपाले उपसभामुखको विषयमा टु·ो लगाउनसकेको छैन्। तर उपसभामुखको खोजी पनि सुरु भएको छ। संविधानतः सभामुख र उपसभामुख एउटै दलले नपाउने भएकाले उपसभामुख अर्को दलले पाउनुपर्नेहुन्छ।
तर नेकपा र राष्ट्रिय जनता पार्टीबीच राष्ट्रियसभा निर्वाचनमा भएको गठबन्धनअनुसार उपसभामुख राजपाले लिने सहमति भएको छ। राजपाको अध्यक्षमण्डलका सदस्य राजकिशोर यादवले दुई पार्टीबीच भएको दुईबुँदे सहमतिअनुसार आफ्नो पार्टीले उपसभामुख पाउने बलियो सम्भावना रहेको नेपाल समाचारपत्रसँग बताउनुभयो।
राजपाले उपसभामुख पाएमा चन्द्रा चौधरी उम्मेदवार हुने बताइएको छ। नेकपाले समर्थन गर्ने उपसभामुखले निर्वाचित जित्ने पक्का छ। उता प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले पनि उपसभामुखप्रति मुख मिठ्याएको छ।
उपसभामुख पाए सभामुखमा समर्थन गर्ने उसको भनाइ छ।उपसभामुखको निर्वाचन प्रक्रिया सभामुखको निर्वाचनपछि मात्र अगाडि बढाइनेछ।











प्रतिक्रिया