एकीकृत जाँच भन्सार भोलिदेखि संचालनमा आउदै, दुई देशका प्रधानमन्त्रीले उद्घाटन गर्ने

0
Shares

सरोज यादव, विराटनगर ।

मोरङको बुधनगरमा निर्माण सम्पन्न भएको एकीकृत जाँच भन्सार विन्दु (आईसीपी) मंगलबारबाट सञ्चालनमा आउने भएको छ ।

भारतीय पक्ष निमार्ण गरेको आईसिपी नेपाललाई हस्तान्तर गरेपछि मंगलबारबाट सञ्चालनमा ल्याउने तयारी गरिएको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय विराटनगरले जनाएको छ । संघीय आयोजना कार्यान्वय इकाई मोरङका सूचना अधिकारी राजु शर्माले मंगलबार एक विशेष कार्यक्रमका बीच नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र उहाँका भारतीय समकक्षी नरेन्द्र मोदीले भिडियो कन्फ्रेन्समार्फत मंगलबार संयुक्त रूपमा उद्घाटन गर्ने जानकारी दिनुभयो ।

उद्घाटनलगत्तै नेपाललाई हस्तान्तरण भएको आईसीपी सञ्चालननमा ल्याइने उहाँले बताउनुभयो ।निर्माणको जिम्मा पाएको भारतीय निर्माण कम्पनी दिनेशचन्द्र आर. अग्रवाल इन्फ्राकन प्रालिले विभिन्न समस्याका कारण म्यादभन्दा ७ महिनापछि आइसीपीको निमार्ण सम्पन्न गरेको हो । दुई वर्षपहिले आएको बाढीका कारण निर्माणमा अवरोध भएपछि ७ महिना ढिलो गरी सम्पन्न भएको परियोजना व्यवस्थापक अवधेशकुमार साहले जानकारी दिनुभयो ।

पूर्वका उद्योग व्यवसायका क्षेत्रमा महत्वपूर्ण परियोजना मानिएको आइसिपी निर्माणले उद्योगी व्यवसायी उत्साहित छन् । तोकिएकै समयभित्र काम सक्न निर्माण कम्पनी र नेपाल सरकारलाई खबरदारी गर्दै आएका उद्योगी व्यवसायी निर्माण सम्पन्न भएपछि उत्साहित बनेका हुन् । तर, सञ्चालनमा भइरहेको ढिलासुस्तीले उनीहरु असन्तुष्ट बनेका छन् । मोरङ व्यापार संघका अध्यक्ष प्रकाश मुण्दडाले आईसिपी तत्काल सञ्चालनमा आए हाल उद्योगी व्यवसायीले व्यहोर्दै आएको नोक्सानी कम हुने बताउनुभयो । उहाँले आईसिपी सञ्चालनले आयात निर्यातमा सहजता र लागत न्यूनीकरणसमेत हुने बताउनुभयो । उहाँले हाल विराटनगर भन्सार नाकाबाट वस्तु आयात गर्दा लाग्ने समय र भीडभाड अन्त्य हुने बताउनुभयो ।

एक सय ६९ बिघा क्षेत्रफलमा निर्माण सम्पन्न भएको आईसिपीभित्र पूर्वाधारमा मुख्य प्रशासनिक भवन, भन्सार कार्यालय, सुरक्षा गृह, पशु तथा खाद्य क्यारेन्टाइन, गोदाम घर, पूर्व पश्चिम दुवैतिर चेकजाँच कक्ष, शौचालय ब्लक, चारै कुनामा भ्यु टावर, इलेक्ट्रिकल सबस्टेसन, डिस्पेन्सरी, ओभरहेड ट्यांक, डोरभेट्री, स्वास्थ्य चौकीलगायतका संरचना बनेका छन् । त्यसैगरी सेवामूलक संरचनाअन्तर्गत आइसिपीभित्र १४० वटा सिसी क्यामेरा जडान, पब्लिक एड्रेस सिस्टम, फायर आलर्म, फायर फिस्टिङ वाटर सप्लाईलगायतका सुविधा रहेको परियोजना व्यवस्थापक साहले जानकारी दिनुभयो ।

त्यस्तै चारैतिर कम्पाउन्ड वाल, २ वटा प्रवेश तथा निस्कने गेट र आइसिपी क्षेत्रभित्र ९ किलोमिटर कालोपत्रे सडकसमेत निर्माण सम्पन्न भएको छ भने सजावट एवं रंगरोगनको काम पनि सकिएको परियोजना व्यवस्थापक साहले बताउनुभयो ।

नेपाल सरकारले आइसिपीका लागि १२९ र लिंक रोडका लागि ४० बिघा जग्गा अधिग्रहणपश्चात ३० करोड १३ लाख ५४ हजार रुपैयाँ मुआब्जा वितरण गरी आइसिपी निर्माणका लागि जग्गा हस्तान्तरण गरेको थियो । एकीकृत जाँच चौकी (आइसिपी) सञ्चालनमा नआए पनि हाल जोगबनी नाका भई वस्तु तथा सामान ओसारपसार गर्ने सवारी साधन नेपालमा सामान पु¥याएर खाली भएपछि आइसिपी क्षेत्रबाटै पुनः भारत फर्कन थालेका छन् ।