भारतीय राजदूत कुमारद्वारा गोर्खा सैनिकका परिवारको हेरचाह गर्ने प्रतिबद्धता

0
Shares

न्युज अफ नेपाल, काठमाडौँ ।

७२ औं भारतीय सेना दिवसको शुभ अवसरमा आइतबार नेपालस्थित भारतीय राजदूतावासले एक कार्यक्रमको आयोजना गरेको थियो ।

उक्त कार्यक्रममा बोल्दै भारतीय राजदूतावासका कार्यवाहक राजदूत डा. अजय कुमारले भारतीय सेना राष्ट्र निर्माणको सुरक्षा कवचको रुपमा रहेको बताउनुभयो । दुई देशलाई जोड्ने नेपाली गोर्खा सैनिकको अटुट सम्बन्धको चर्चा गर्दै उहाँले उनीहरुको निःस्वार्थ सेवाभाव तथा त्यागप्रति कृतज्ञता व्यक्त गर्नुभयो । उहाँले अवकाश प्राप्त पेन्सनवाला भारतीय सैनिक र नेपालमा बसोबास गरिरहेका उनीहरुका परिवारको सेवाका साथै उनीहरुको स्वास्थ्य तथा सुविधाको हेरचाह गर्ने प्रतिबद्धता व्यक्त गर्दै राष्ट्र निर्माणमा उनीहरुको अथक प्रयासको प्रंशसा पनि गर्नुभयो ।

सो कार्यक्रममा भारतीय सेनाका महारथी तथा सुकीर्तिमय राष्ट्रदीपबाट सम्मानित नेपाली सेनाका प्रधान सेनापति महारथी पूर्णचन्द्र थापा प्रमुख अतिथिका रुपमा उपस्थित थिए । थापाले दुई देशका सेनाबीच रहेको उत्कृष्ट सम्बन्ध र सहकार्य नेपाल भारतबीच रहेको सुमधुर सम्बन्धको उदाहरणको रुपमा रहेकोे बताउनुभयो । कार्यक्रममा नेपाली सेनाका प्रधान सेनापति र भारतीय राजदूतावासका कार्यवाहक राजदूतले भारतीय सेनाका वीरता पुरस्कार विजेता गोर्खा सैनिकहरुलाई सम्मान गर्नुभयो ।

सो समारोहमा नेपाली सेनाका अधिकारी, विभिन्न राजदूतावासका सैनिक सहचारी,सरकारी र नागरिक उच्च–पदाधिकारी तथा भारतीय राजदूतावासका अधिकारी उपस्थित थिए ।