नेपाल समाचारपत्र, काठमाडौं।
नेपाल प्रज्ञा–प्रतिष्ठान, साहित्य (अनुवाद) विभागद्वारा शुक्रबार ‘पठन अवरोधन र नयाँ ज्ञानको सेतु सांस्कृतिक अनुवाद ः केही दृष्टान्त एवम् परिचर्चा’ विषयक अनुवादसम्बन्धी विचारगोष्ठीको आयोजना गरियो।
गोष्ठीलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीले अनुवाद सरल र सम्प्रेषणीय हुनुपर्नेमा जोड दिनुभयो। उहाँले अनुवादले नै एक भाषाबाट अर्को भाषालाई जोड्ने भएको हुँदा त्यो सम्प्रेषणीय हुनैपर्ने जिकिर गर्नुभयो। उहाँले असमका नेपाली लेखकहरूले आफ्नो पितृभूमिको भाषामा लेखेका कृतिले त्यहाँको संस्कृति जीवन्त बनाएको बताउनुभयो।
उहाँले अनुवाद गर्दा ‘हरे राम हरे कृष्ण’जस्ता शब्दावलीको अर्को अर्थ नखोजी त्यस्ता शब्दावलीलाई नबङ्ग्याई जस्ताको तस्तै राख्नुपर्ने विचार व्यक्त गर्नुभयो।
कुलपति गङ्गाप्रसाद उप्रेतीले साहित्यमा अनुवादको अपरिहार्यतामाथि जोड दिँदै नेपाली साहित्यलाई विश्वका अन्य भाषामा र विश्वका विभिन्न भाषाका साहित्यलाई नेपाली भाषामा अनुवाद गर्ने कार्यमा प्रज्ञा–प्रतिष्ठान प्राथमिकताका साथ लागेको बताउनुभयो।
उहाँले भन्नुभयो– ‘अनुवाद गर्नका लागि अनुवादकला चाहिन्छ। यसका लागि कसरी उत्कृष्ट अनुवाद गर्ने भनेर अनुवादकले विचार पुर्याउनुपर्ने हुन्छ।’ उहाँले अनुवादका लागि प्रज्ञा–प्रतिष्ठान संस्थागतरूपमै अघि बढिरहेको र अनुवादका क्षेत्रमा बहुपक्षीय कामहरू भइरहेको सुनाउनुभयो।
सदस्य सचिव प्रा. जगत्प्रसाद उपाध्यायले आजको दुनियाँ अनुवादको दुनियाँ भएको उल्लेख गर्दै बिनाअनुवाद साहित्यको अन्तर्राष्ट्रियकरण हुन नसक्ने विचार व्यक्त गर्नुभयो।
उहाँले प्रयोगका माध्यमबाट अनुवाद कला सिकाउन सक्ने अनुवादक स्वयं कार्यपत्र प्रस्तोता भट्टराई भएको उल्लेख गर्दै ‘नेपाली लेखकले नोबेल पुरस्कार नपाएसम्म म मर्दिनँ’ भन्ने वाङ्मय शताब्दी पुरुषको अठोटलाई नेपाली स्रष्टा लेखक तथा अनुवादकले नोबेल पुरस्कार प्राप्त गर्ने गरी कृतिको पहिचान र अनुवाद गर्नुपर्नेमा जोड दिनुभयो।
प्रज्ञा–प्रतिष्ठान, साहित्य (अनुवाद) विभाग प्रमुख एवं कार्यक्रमकी संयोजक प्राडा उषा ठाकुरले कार्यक्रमको विषयमाथि प्रकाश पार्दै विश्वका विभिन्न भाषा बोल्ने मानिससँग भावनात्मक र भाषिक सम्बन्ध सम्प्रेषणीय ढङ्गले गाँस्ने सेतु भनेकै अनुवाद भएको हुँदा अनुवाद कार्य महत्वपूर्ण रहेको बताउनुभयो।
सो अवसरमा उहाँले आफ्नो अनुवाद विभागबाट भएगरेका कार्यका बारेमा जानकारी गराउनुभएको थियो।गोष्ठीका सभाध्यक्ष प्राडा अभि सुवेदीले अनुवाद स्वतन्त्र हुनुपर्ने उल्लेख गर्दै आफूले अहिलेसम्म सबैभन्दा राम्रा अनुवादक भानुभक्त आचार्यलाई पाएको बताउनुभयो
संस्कृतका सूक्ष्मतम कुरालाई पनि सरल र सम्प्रेषणीय ढङ्गले भानुले नेपालीमा अनुवाद गरेको सुनाउँदै उहाँले देशभित्रकै अन्तर मातृभाषामा पनि अनुवादको जरुरी रहेको औंल्याउनुभयो।
गोष्ठीमा प्राडा गोविन्दराज भट्टराईले ‘पठन अवरोधन र नयाँ ज्ञानको सेतु सांस्कृतिक अनुवाद ः केही दृष्टान्त एवम् परिचर्चा’ विषयक कार्यपत्र प्रस्तुत गर्नुभएको थियो। उहाँले कार्यपत्र प्रस्तुत गर्दै साहित्यको आत्मा संस्कृतिले निर्मित हुने हुँदा अनुवाद गर्दा सांस्कृतिक अनुवादलाई महत्व दिनुपर्ने धारणा व्यक्त गर्नुभयो।
सांस्कृति अनुवाद नगरिएको खण्डमा पठनमा अवरोधन उत्पन्न हुने भट्टराईको ठहर थियो। उहाँले कार्यपत्रमा असमका नेपाली लेखक तथा अनुवादक चन्द्रमणि उपाध्यायले त्यहींका एक जना आदिवासी लेखक वीणा वरुवाको असमिया भाषाको उपन्यास ‘जीवनर बाटोत’लाई नेपाली भाषामा अनुवाद गर्दा पठनमा उत्पन्न भएको अवरोधनको दृष्टान्त प्रस्तुत गर्दै यस्तो धारणा व्यक्त गर्नुभएको हो।
प्राडा भट्टराईको कार्यपत्रमाथि बलराम अधिकारीले समीक्षा गर्नुभएको थियो। यसै गरी कार्यपत्रप्रति प्राडा कृष्णचन्द्र शर्मा, डा. जङ्गब चौहान, रामेश्वर राउत मातृदास, डा. कृष्णराज चौधरी सर्वहारी, भीमनारायण रेग्मीलगायतले जिज्ञाशा व्यक्त गर्नुभएको थियो।
कार्यक्रममा प्रतिष्ठानको योजना तथा कार्यक्रम महाशाखा प्रमुख लक्ष्मी गौतमले सरस्वती वन्दना पाठ गर्नुभएको थियो। कार्यक्रमको सहजीकरण बुद्धि तिमल्सिनाले गर्नुभएको थियो।











प्रतिक्रिया