युवा सक्रियता बढाउन स्थानीय तहको भूमिका बारे चर्चा


न्युज अफ नेपाल, ललितपुर ।
स्थानीय तहले युवा परिचालनको महत्व र भूमिकालाई आत्मसात गरेर त्यसलाई टेवा दिनुपर्ने एक कार्यक्रमका वक्ताहरुले जोड दिएका छन् । ललितपुर महानगरपालिका– ११ युवा शिक्षा तथा खेलकुदसमितिले शनिबार कार्यविनायकमा आयोजना गरेको स्थानीय युवा परिचालनको चुनौती र अवसर विषयक अन्र्तक्रिया कार्यक्रमका वक्ताहरुले सो विषयमा जोड दिएका हुन् ।

ललितपुरको ठोस सामाजिक, सांस्कृतिक, धार्मिक क्षेत्रमा युवावर्गको सक्रियता र भूमिका उल्लेख्य रहेपनि त्यसलाई स्थानीय तहबाट थप टेवा दिन नसकिरहेको धारणा सम्बद्ध पक्षले सार्वजनिक गर्दै आएको छ । यस सन्र्दभमा स्थानीय तहले युवापरिचालन थप टेवा पु¥याउनुपर्ने मान्यताका साथ सो कार्यक्रम आयोजना गरिएको कार्यक्रमका वडा सदस्य एवं कार्यक्रम संयोजक कृष्ण महर्जनले बताउनुभयो ।

सो अवसरमा नेवाः पत्रकार राष्ट्रिय दबूका केन्द्रीय महासचिव एवं कार्यक्रमका सहजकर्ता सुनील महर्जनले ललितपुरको जात्रा, पर्व, बुद्ध जयन्ती, मतया पर्व लगायत सांस्कृतिक, लोककल्याणकारी कार्य र अन्य रचनात्मक गतिविधिमा भइरहेको युवावर्ग सक्रियता र त्यसको महत्वलाई राष्ट्रिय युवा नीति २०७२ युथभिजन २०२५ को सन्र्दभमा मुल्याकंन गर्नुपर्नेमा जोड दिनुभयो । त्यस्तो मुल्याकंनले युवापरिचालनको अवस्था, अब गर्नुपर्ने कार्य बोध हुने पनि सहजकर्ता महर्जनको भनाई रहेको छ । उहाँले युवावर्गको परिचालनको गति बढाउन स्रोतको व्यवस्थापन, सहभागिता बढाउन स्थानीय तहले भूमिका निर्वाह गर्नुपर्ने खाँचो पनि औल्याउनुभयो ।

सोही विषयमा केन्द्रीत गर्दै संविधानसभा सदस्य सुशीला नेपालले युवा परिचालनलाई प्रभावकारी बनाउन आफ्नो तर्फबाट यथासक्य सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । राजनीतिमा युवावर्गको सक्रियता बढाउनुपर्ने पनि नेपालको जोड रहेको छ । कार्यक्रममा नेकपा (नेकपा) का ललितपुर जिल्ला अध्यक्ष हरिकृष्ण व्यञ्जनकारले तत्काल फाइदा देख्न, कामलाई सानो भनेर हेप्ने र रातारात धनी बन्ने सोचबाट मुक्त भई काम सक्ने युवावर्गले आफ्नो लक्ष्य भेटाउने विश्वास व्यक्त गर्नुभयो ।

युवावर्ग परिचालन बिना समाजको कुनै पनि पक्षको विकास नहुने पनि अध्यक्ष व्यञ्जनकारको भनाई रहेको छ । सो अवसरमा महानगरपालिका– ११ का वडाअध्यक्ष इन्द्रमान महर्जनले युवा गतिविधिलाई प्रोत्साहित गर्न वडाबाट बजेट विनियोजित गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । कार्यक्रमको दोस्रो सत्रमा अधिवक्ता सुलोचना बज्राचार्यले कानूनी साक्षरता बारे प्रशिक्षण दिनुभएको थियो ।