बिमा रकम रोकिँदा अस्पताल समस्यामा

0
Shares

न्युज अफ नेपाल, हेटौंडा ।

स्वास्थ्य बिमाको उपचार गराएबापत् अस्पतालले पाउने रकम समयमै प्राप्त नहुँदा हेटौंडा अस्पताल व्यबस्थापनमा कठिनाइ भएकोे छ ।

अस्पतालमा स्वास्थ्य बिमामार्फत् प्राप्त हुने रकम महिनौंसम्म रोकिँदा समस्या भएको हो । हेटौंडा अस्पतालले आउनुपर्ने करिब एक करोड ७२ लाख रुपियाँ समयमा नआउँदा औषधि खरिदमा समस्या भएको अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट प्रवीण श्रेष्ठले बताउनुभयो ।

चालु आर्थिक वर्षको भदौमा बिमा निर्देशनालयमार्फत् गत वर्षको बक्यौता दिए पनि चालु आर्थिक वर्षको रकम भने नआएको श्रेष्ठले जानकारी दिनुभयो । रकम प्राप्त नहुँदा औषधि खरिद प्रक्रिया तथा मेसिनरी उपकरणमा समस्या भएको श्रेष्ठले बताउनुभयो ।

अस्पतालबाट समयमा बिल प्राप्त नहुँदा रकम भुक्तानीमा समस्या भएको स्वास्थ्य बिमा बोर्ड मकवानपुरले बताएको छ । अस्पतालबाट तोकिएको दिन बिल नआए अर्को महिना कुर्नुपर्ने भएका रकम भुक्तानी रोकिएको दाबी छ । कर्मचारी समायोजनका कारण बीचमा केही समस्या आए पनि अब नियमितरुपमा रकम भुक्तानीको व्यबस्था गरिने बताइएको छ ।