लहान बसपार्क सञ्चालनमा

0
Shares

सुभेन्द्र दास, लहान ।

लहान नगरपालिका–१ सिङ्गराहीमा नवनिर्मित बसपार्क आजदेखि सञ्चालनमा आएको छ ।

पूर्व–पश्चिम राजमार्गकै छेउमा लहान नगरपालिकाले रु चार करोडको लागतमा निर्माण गरेको बसपार्कको आज उद्घाटन गर्दै नगरपालिकाका प्रमुख मुनी साहले करीब नौ महिनाभित्रै निर्माण गरी बसपार्क सञ्चालनमा ल्याएको र आगामी छ महिनाभित्र बसपार्कलाई कालोपत्र गरी आकर्षक बनाउने योजना रहेको बताउनुभयो ।

केही महिनाभित्रै नगरपालिकाले नगर बस सञ्चालन गर्ने, बेरोजगारी समस्या समाधान गर्नेतर्फ नगरपालिका अग्रसर भएको उल्लेख गर्दै प्रमुख साहले बसपार्क सञ्चालन भएसँगै अब जथाभावी बाटोमा गाडी पार्किङ गर्ने र सडक दुर्घटनाका घटनामा कमी आउने बताउनुभयो । नवनिर्मित बसपार्कलाई अझ व्यवस्थित बनाउन अझै रु दुई करोड व्यवस्थित गर्न लाग्ने बसपार्कका सञ्चालक महेश गुप्ताले जानकारी दिनुभयो । ‘‘लामो र छोटो दूरीमा चल्ने बसहरु पार्कमा आएर पार्किङ गर्ने र केही समयपश्चात् त्यहाँबाट बसहरु प्रस्थान गर्नेछन्’’, उहाँले भन्नुभयो ।