दिवसीय कार्यक्रममा हुदैन नागरिकको सहभागिता


कृष्णप्रसाद अधिकारी, दैलेख ।

भूकम्पबाट हुने जोखिमलाई न्यूनीकरण गरी जनधनको क्षति रोक्न विगत २२ वर्ष अघिदेखि माघ २ गतेलाई ‘राष्ट्रिय भूकम्प सुरक्षा दिवस’ मनाउने गरिएको छ । ‘भूकम्पबाट सुरक्षित पूर्वाधारः दिगो सुख र समृद्धिको आधार’ नाराका साथ बिहीबार दैलेखमा २२ औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाईएको छ ।

पुष २५ गतेदेखि थालिएको साताव्यापी कार्यक्रम बिहिवार समाापन गरिएको हो । जिसस, नारायण नगरपालिका, सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेख, एभरेष्ट क्लब र नेपाल रेडक्रस सोसाइटीको समन्वयमा जिल्ला विपद् व्यवस्थापन समिति दैलेखको आयोजित चेतनामुलक र्यालीमा नागरिक सहभागिता शुन्य नै रह्यो ।

जिल्ला स्थित विभिन्न सरकारी कार्यालयका प्रतिनीधि, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा सामाजिक संघ संस्थाका प्रतिनीधिबाहेक स्थानीय नागरिकको सहभागिता शुन्य भएको हो । त्यसो त जिल्ला सदरमुकाममा हुने दिवसीय कार्यक्रममा स्थानीय नागरिकहरु सरिक भएका उदाहरणहरु कम छन् । यहाँ हुने दिवसीय कार्यक्रममा राष्ट्रसेवक कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको ठेक्का जस्तै भएको छ ।

राष्ट्रिय भूकम्प सुरक्षा दिवसको अबसरमा आयोजित ¥याली पश्चात भएको सभामा सांसद देखि प्रमुख जिल्ला अधिकारीले नागरिक सहभागिता शुन्य हुनु दुःखद रहेको गुनासो गरे । कर्णाली प्रदेश सांसद अम्मरबहादुर थापाले विपद् न्यूनीकरण र सामना गर्न पूर्वतयारी कार्यमा विशेष ध्यान दिनुपर्ने बताए । भूकम्प सुरक्षाका लागि स्थानीय तहका जनप्रतिनीधिहरु चनाखो हुनुपर्ने हो तर, त्यसो भएको पाइएन्,’ थापाले भने ।

महाबु गाउँपालिकाका अध्यक्ष जंगबहादुर शाहीले भुकम्प प्रतिरोधी घर निर्माणमा जोड दिनुपर्ने बताए । प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलले जिल्ला तहमा हुने विविध कार्यक्रममा नागरिक सहभागिता बढाउनुपर्नेमा जोड दिए । ‘जानेबुझेका व्यक्तिहरु मात्रै यस्ता कार्यक्रममा सहभागि भईरहनुभएको छ, राष्ट्रसेवक कर्मचारीहरु मात्रै सहभागि भएर औपचारिकता निभाउने काम मात्रै भएको छ,’ पमुख जिल्ला अधिकारी कट्टेलले भने ।