नमूना कृषि गाउँ बनाउन महिला एकजुट


शिक्षा पन्त, लम्जुङ ।

लम्जुङको दोर्दी गाउँपालिका–८, दुवारका महिला गाउँलाई नमुना कृषि गाउँ बनाउन एकजुट भएका छन् । गण्डकी प्रदेश सरकारको ‘मुख्यमन्त्री वातावरणमैत्री नमूना कृषि गाउँ स्थापना’ सहयोग कार्यक्रम अन्तर्गत दुवार गाउँलाई ‘नमूना कृषि गाउँ’को रुपमा अघि बढाइएको हो । स्थानीय मिलिजुली महिला पशुपालन तथा कृषि सहकारीको सक्रियतामा दुवार गाउँलाई नमूना कृषि गाउँको रुपमा अघि बढाइएको छ ।

दुवारमा ‘नमूना कृषि गाउँ स्थापना’का लागि आर्थिक वर्ष २०७५/७६ मा भूमी व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, गण्डकी प्रदेशले २५ लाख रुपैयाँ अनुदान सहयोग गरेको थियो । ‘नमूना गाउँ कृषि स्थापना’का लागि प्रदेश सरकारको सहयोगसंगै स्थानीय उपभोक्ताको १० लाख रुपैयाँ गरी कुल ३५ लाख रुपैयाँ खर्च भएको छ ।

यस रकमबाट स्थानीयले पशुपालनतर्फ बाख्राको खोर निर्माण, गाइँभैँसीको भकारो सुधार, भेँडाको गोठ निर्माण, सुँगुर खोर निर्माण, ब्याड बोका खरिद, कृषितर्फ तरकारी टनेल निर्माण, मौरीपालन, थोपा सिँचाई सेट, पानी संकलन पोखरी, तालिम, सरसफाइ, नमूना सूचना बोर्ड निर्माण, जस्ता कार्य गरेको मिलिजुली महिला पशुपालन तथा कृषि सहकारी संस्थाकी अध्यक्ष लालमाया मिजारले बताउनुभयो ।

नमूना कृषि गाउँ स्थापना गरिएसंगै स्थानीयको आयस्तर वृद्धि हुनुका साथै जीवनस्तर पनि उकासिदैँ गएको उनको भनाइ छ । ‘विगतमा स्थानीयले खासै व्यवसायिक रुपमा कृषि तथा पशुपालन गरेका थिएनन् । आम्दानीको श्रोत थिएन,’ उनले भने ‘अहिले स्थानीयहरु व्यवसायिक तरकारी खेतीका साथै व्यवसायिक पशुपालनमा लागेका छन् । आम्दानी गरेका छन् । स्थानीयको जीवनस्तर उकासिदैँ गएको छ ।’