हेटौंडामा मनाइयो दोस्रो माघी महोत्सव


न्युज अफ नेपाल, हेटौंडा ।

थारु जातिको महान् पर्व माघीको अवसरमा हेटौंडामा महोत्सव आयोजना गरी धुमधामसाथ मनाइएको छ । साँस्कृतिक कार्यक्रम, थारुको परिकारको स्टलहरु दोस्रो थारु माघी महोत्सवमा राखिएका थिए ।
महोत्सवमा घुंगीको विशेष परिकार, माछाको अचार, तिल र भुजाको लड्डुलगायत खानेकुराका स्टल थिए । महोत्सवमा थारु विद्यार्थीसभा, थारु युवासभा, थारु महिलासभा लगायतले थारु परिकारको स्टल राखेका थिए ।
रौतहटको हरफरौरी नृत्य, लौरी नृत्य तथा थारु युवा, महिला र विभिन्न समूहले थारु, नेपाली र हिन्दी गीतगायन तथा नृत्य प्रस्तुत गरेका थिए । हेटौंडा–४, भुटनदेवी माध्यमिक विद्यालय चौरबाट शुरु भएको झाँकीसहित ¥याली हेटौंडा बजारको परिक्रमा गरी विद्यालयको प्रांगणमा पुगेर महोत्सवको रुप लिएको थियो ।
महोत्सवमा परीक्षामा उत्कृष्ट अंक ल्याउने थारु विद्यार्थी, थारु समुदायका ज्येष्ठ नागरिकलाई सम्मान गरिएको थियो । थारु समुदायको सँस्कृति र परम्परा जोगाउने उद्धेश्यले महोत्सव आयोजना गरिएको थारु कल्याणकारिणीसभाले जनाएको छ । सशुल्क महोत्सवमा करिब दुई हजार जनाले अवलोकन गरेको बताइएको छ ।
उद्घाटन कार्यक्रम हेटौंडा उपमहानगर मेयर हरिबहादुर महतको प्रमुख आतिथ्यता तथा माघी महोत्सव मूल समारोह समिति संयोजक एवम् थारु कल्याणकारिणीसभा मकवानपुर सभापति हरिलाल चौधरीको सभाध्यक्षतामा भएको थियो ।
कार्यक्रममा थारु कल्याणकारिणीसभा केन्द्रीय सदस्य जानकी चौधरी, नेपाल आदिवासी जनजाति महासंघ मकवानपुर अध्यक्ष जंगबहादुर गुरुङ र हेटौंडा–४ अध्यक्ष नवीन सिग्देलको विशेष आतिथ्यता थियो ।
माघी पर्व आदिवासी थारु समुदायको सबभन्दा ठूलो चाड र नयाँ वर्ष पनि हो । यस पर्वमा थारुहरु आपसमा रमाइलो गर्ने, साथीभाइबीच भ्रातृत्व, प्रेम तथा आदरसम्मान गर्ने गरिन्छ ।
नयाँ नीतिनियम बनाउने, कार्यान्वयन गर्ने, नयाँ प्रतिवद्धता जनाउने तथा नयाँ कामको जिम्मेवारी बाँडफाँट गर्ने हुनाले यस पर्वलाई थारुले नयाँ वर्षको रुपमा मनाउने गरेका हुन् ।