अझै छैन भुकम्पको जनचेतना


न्युज अफ नेपाल, हेटौंडा ।

मकवानपुरमा २०७२ वैशाख १२ गतेको भुकम्पमा परी मृत्यु हुनेमध्ये अधिकांश चेतना अभावमा ज्यान गुमाउन पुगे ।
अझ पनि मकवानपुरका गाउँमा भुकम्पबारे चेतना नभएका प्रशस्त भेटिन्छन् । भुकम्पबारे जनचेतना फैलाउन एक वर्षमा दिवसलाई कुर्नुपर्ने सर्वसाधारणको भनाइ छ । दिवसको अवसरमा मात्र यसलाई चासो दिएर जनचेतना फैलाएजसरी सडकमा ब्यानरमात्र डोर्याएर केही नहुने मनहरी गाउँपालिकाका सर्वसाधारणले गुनासो गरे । ‘यसका लागि बिकट ठाउँमा तालिम प्रदान गर्दै अनि विभिन्न जनचेतनामूलक सामग्री प्रस्तुत गरेमात्र प्रभावकारी हुने देखिन्छ,’ उनीहरुले भने ।
मकवानपुरमा जिम्मेवार व्यक्तिले यसका लागि दिवस करले मनाएको हेटाैंडा उपमहानगरपालिका निवासी सुवास गौतमले बताउनुभयो । अन्य बेला वास्तै नहुने र दिवसमा मात्र ब्यानर बोकेर हिँड्दैमा के हुन्छ र ?,’ भन्दै उहाँले भन्नुभयो–अझै पनि गाउँठाउँमा चेतना कमी छ । भुकम्पप्रतिरोधी घर कसरी बनाउने र कतिलाई त भुकम्प आउँदा कसरी बच्ने भन्ने बारेसमेत जानकारी नभएको उहाँले गुनासो पोख्नुभयो ।
जिल्ला समन्वय समिति प्रमुख रघुनाथ खुलालले भुकम्पबारे चेतना जगाउनुपर्ने बताउनुभयो । खुलालले नेपाल भुकम्पको उच्च जोखिमयुक्त विश्वका ११ मुलुकभित्र रहेको र जुनसुकै बेला भुकम्प आउनसक्ने हुनाले भुकम्प सुरक्षाबारे तल्लो तहका नागरिकसम्म चेतना फैलाउन जरुरी रहेको बताउनुभयो ।
दिवसीय कार्यक्रममात्र नभएर अन्य दिन पनि यस विषयलाई जनमाससम्म पुर्याउनुपर्ने खुलालले सुझाउनुभयो । ‘सबभन्दा पहिलो कुरा स्थानीय तहले यसका लागि पहल गर्नुपर्छ,’ उहाँले स्थानीय निकायले यसमा ध्यान दिनुपर्ने औंल्याउनुभयो । विद्यालयमा विद्यार्थीलाई ठाउँअनुसार भुकम्प आउँदा बच्ने उपाय सिकाउन आवश्यक रहेको उहाँको भनाइ छ ।
१९९० माघ २ गते अपराह्न २ बजेर २४ मिनेटमा भुकम्प गएको सम्झनामा मनाउन लागिएको भुकम्पीय सुरक्षा दिवस विहीबार हेटौंडामा विभिन्न कार्यक्रम गरी मनाइएको छ । नेपालमा २०७२ सालको जस्तो भुकम्प आयो भने लाखौंको संख्यामा मान्छेको मृत्यु हुने, त्यसभन्दा बढी घाइते हुने र धेरै उपचार नपाएर मर्ने अबस्था रहेको कार्यक्रममा सहभागीले बताए ।
एक दिन दिवस मनाउँदा नागरिकसम्म चेतना पुग्न नसक्ने भएकोले पठनीय र हेर्नलायक जनचेतनामूलक सामग्री बारम्बार पस्किनु जरुरी रहेको औंल्याइयो । भुकम्पका जानकार नहुँदा नेपालमा भुकम्पीय जोखिम न्यूनीकरणका अभियान र प्रयास प्रभावकारी हुन नसकेको धारणा छ ।
भुकम्पका दृष्टिले जोखिम अझ बढी छ । नेपाल जमिनमुनिको प्रकोप अथवा भुकम्पीय जोखिमका दृष्टिले ११ औं जोखिमयुक्त क्षेत्रमा पर्छ । कमजोर भौतिक संरचना, अव्यबस्थित वस्ती, निर्माण संहिताविपरीत भवनलगायत कारण जोखिम बढ्दै गएको छ । सरकारले भुकम्पीय जोखिमबाट बच्न पूर्वतयारी नीति बनाए पनि यसको पूर्ण कार्यान्वयन हुन सकेको छैन ।
दिवसका अवसरमा विहीबार हेटौंडामा प्रभातफेरी गर्नुका साथै भुकम्प आउँदा सुरक्षित हुन अपनाउनुपर्ने सावधानीका विषयमा चेतनामूलक प्रदर्शनी गरिएको थियो । नेपाली सेना, सशस्त्र प्रहरी तथा नेपाल प्रहरीले भुकम्प सुरक्षासम्बन्धी चेतनामूलक सामग्री प्रदर्शन गरेका हुन् । प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टको सभाध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय समिति मकवानपुरप्रमुख खुलालको प्रमुख आतिथ्यता थियो ।
उहाँले २०७२ वैशाखको भुकम्पबाट मकवानपुरमा धेरै क्षति पुगेको र पुनर्निर्माण चलिरहेको बताउँदै पुनर्निर्माण समयमै सक्नुपर्ने बताउनुभयो ।