हराएको भाई खोज्न जाँदा मारिए दाई


न्युज अफ नेपाल, हेटौंडा ।

मंगलबार राति आक्रमण गरी एक जनाको हत्या गरेको अभियोगमा मकवानपुरका ७ जनालाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा मकवानपुरको बागमती गाउँपालिका वडा नम्बर–२, डोटेका २२ वर्षीय नवीन ठाडामगर र शेरबहादुर आलेमगर, १८ वर्षीय टेकबहादुर ठाडामगर, ३६ वर्षीय दानबहादुर ठाडामगर, २६ वर्षीय कृष्णबहादुर ठाडामगर, २० वर्षीय सूर्यबहादुर ठाडामगर, २६ वर्षीय विजय ठाडामगर रहेको इलाका प्रहरी कार्यालय चन्द्रपुरले बताएको छ ।
रौतहटको चन्द्रपुर नगरपालिका–१, कुण्डोमा उनीहरुले ढुंगामुढा र घरेलु हतियार प्रयोग गरी आक्रमण गर्दा सर्लाहीको बागमती नगरपालिका वडा नम्बर–९ का ५० वर्षीय जीतबहादुर मगरको मृत्यु भएको थियो ।
आक्रमणबाट घाइते भएका जीतबहादुरको उपचारका क्रममा मृत्यु भएको हो । आफ्नो भाइ हराएपछि खोज्न त्यहाँ पुगेका जीतबहादुरलाई चोर्न आएको आशंकामा स्थानीयले आक्रमण गरेको जनाइएको छ ।
उनीहरुलाई कर्तव्यज्यान मुद्धामा म्याद थप गरी अनुसन्धान थालिएको प्रहरीले जनाएको छ । घटनास्थल मकवानपुर र रौतहटको सिमानामा पर्ने प्रहरीले जनाएको छ ।