वातावरणमन्त्रीले लिए दुई साता सुत्केरी बिदा


काठमाडौँ ।

जापानका वातावरणमन्त्री शिन्जिरो कोइजुमीले आफूले श्रीमती सुत्केरी हुँदा दुई साताको बिदा लिन लागेको जनाएपछि उनी देशमा हेडलाइन समाचार बनेका छन् । उनले बच्चाको पहिलो महिनाको हेरचाहको लागि करिब दुई साता विदा लिने जनाएका थिए । जापानको मन्त्रिमण्डलका कुनै पनि सदस्यले यसरी श्रीमती सुत्केरी भएको बेलामा बिदा लिन लागेको यो पहिलो पटक भएको बताइएको छ ।

जापानमा बच्चा जन्मिएपछि सरकारी सेवामा काम गर्ने पुरुषलाई एक महिना भन्दा बढी समय बिदा बस्न पाउने नियम लागु गरिएको जनाइएको छ । तर, केवल ६ प्रतिशत पुरुषले मात्रै यस्तो विदा लिएको सन् २०१८मा पाइएको छ । किनकी उनीहरुलाई निरन्तर काम गर्न दबाब हुने गरेको छ । महिलाहरुको प्रतिशत भने ८२ रहेको छ । ३८ वर्षिय कोइजुमीले बुधबार पत्रकारहरुसँगको कुराकानीमा सो कुरा बताएका थिए ।

उनले आफ्नो सहयोगीलाई इमेल र भिडियो कन्फेरेन्सको माध्यमबाट आफ्नो प्रतिनिधित्व गर्न लगाउने जनाएका थिए । यद्यपि महत्वपूर्ण सार्बजनिक गतिविधि जस्तो संसदको सेसन भने आफूले नछोड्ने उनले जनाएका छन् ।

उनले त्यस खालको बिदा लिने गत वर्षदेखि नै भन्दै आएकोमा त्यसबारेमा चर्चा भइरहेको थियो । कोइजुमीले ४२ वर्षिया फ्रेन्च(जापानी न्यूज प्रेजेन्टर क्रिस्टेल टाकीगावासँग विवाह गरेका छन् । उनी जापानका प्रख्यात प्रधानमन्त्री जुनिचिरो कोइजुमीका दोस्रो सन्तान पनि हुन् । उनी जापानको राजनीतिमा राइजिङ्ग स्टारको रुपमा समेत चिनिन्छन् ।
बीबीसी