आर्मी मनमोहन स्मृति क्रिकेटको फाइनलमा

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं।

नेपाल आर्मी क्लब जारी मनमोहन स्मृति राष्ट्रिय एकदिवसीय क्रिकेट प्रतियोगिताको फाइनलमा पुगेको छ।इनरुवाको मैदानमा बुधबार भएको सेमिफाइनल खेलमा आर्मीले वागमती प्रदेशलाई ६४ रनले हराएर फाइनलमा प्रवेश गर्यो। निर्धारित ४७ ओभरको खेलमा आर्मीले २ सय १७ रनको लक्ष्य दिएको थियो।

जवाफमा वागमती प्रदेश ३८.१ ओभरमा सबै विकेट गुमाएर १ सय ५२ रनमा समेटिएको थियो। टोलीका लागि मध्यक्रमका सोनु तामाङले ७४ रन बनाए पनि टोलीलाई जित दिलाउन सकेनन्।

अन्य खेलाडीबाट साथ नपाएपछि सोनुको उत्कृष्ट ब्याटिङ छायामा परेको थियो। उनले ७५ बलमा ६ छक्का र ४ चौका प्रहार गरेका थिए। आर्मीको बलिङतर्फबाट सुसन भारीले ८.१ ओभरमा ३ मेडनसहित २३ रन दिएर ३ विकेट हात पारेका थिए। यस्तै शहाब आलमले २ तथा बिक्रम सोब, हरि चौहान, हरिकृष्ण झा र कुशल मल्लले १/१ विकेट लिएका थिए।

यसअघि आर्मीले ४६.३ ओभरमा सबै विकेटको नोक्सानीमा २ सय १६ रनको बलियो योगफल बनाएकोे थियो। टोलीका लागि ओपनर अनिल मण्डलले सर्वाधिक ४३ रनको योगदान दिएका थिए।

त्यस्तै कुशल मल्लले विस्फोटक ब्याटिङ गर्ने क्रममा २६ बलमा ३७ रन जोडेका थिए। प्लेयर अफ द म्याच घोषित उनले ४ चौका र २ छक्का समेत प्रहार गरे। प्रदेशको बलिङमा गौतम केसीले ७.३ ओभरमा २२ रन खर्चेर ४ विकेट हासिल गरेका थिए।