बाँके, (नेस)।
खजुरा गाउँपालिका शिक्षा समितिको आयोजनामा दोस्रो अन्तर विद्यालय मेयर रनिङ सिल्ड खेलकुद प्रतियोगिता शुरू भएको छ।‘शिक्षा, स्वास्थ्य र खेलकुद खजुराको शान, विविधतामा एकता हाम्रो पहिचान’ भन्ने मूल नाराका साथ शुरू भएको उक्त प्रतियोगिता शुक्रबारसम्म चल्नेछ। प्रतियोगितामा खजुरा क्षेत्रका ६५ विद्यालयको सहभागिता रहेको छ।
आधारभूत तहका लागि बालमैत्री खेलहरु खेलाइने छ। मावितर्फ एथलेटिक्स, भलिवल, कबड्डी, मार्सल आर्ट र चेस खेलका ३३ इभेन्ट्स, आधारभूत तहतर्फ एथलेटिक्स, कबड्डी, मार्सल आर्ट र चेस खेलका २५ इभेन्ट्स तथा आधारभूत तहतर्फ लङजम्प, रिले सय मिटर दौड, चम्चा दौड ३० मिटर र कुर्सी दौड खेलका ७ इभेन्ट्स गरी ६५ ओटा खेलहरुमा प्रतिस्पर्धा भइरहेको सचिवालय संयोजक यमनारायण महतोले जानकारी दिए।
प्रतियोगिताका प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने विद्यालयलाई मावितर्फ २० हजार, १० हजार र ७ हजार, आधारभूत तह १० हजार, ७ हजार र ५ हजार नगद पुरस्कार प्रदान गरिने छ।
आधारभूतमा प्रथम, द्वितीय र तृतीयलाई ५ हजार, ३ हजार र २ हजार नगद पुरस्कार, प्रमाणपत्र र ट्र«फी प्रदान गरिने स्रोत शिक्षक टंक दाहालले जानकारी दिए।
प्रतिक्रिया