स्वास्थ्य मन्त्रालयद्वारा लगातार ६० दिनभन्दा बढी अनुपस्थित कर्मचारीको विवरण माग


न्युज अफ नेपाल, काठमाडौँ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कार्यालयलाई जानकारी नगराई लगातार ६० दिनभन्दा बढी अनुपस्थित कर्मचारीको विवरण माग गरेको छ । मन्त्रालयले आफूमातहतका सम्पूर्ण कार्यालयलाई त्यस्ता कर्मचारीको विस्तृत विवरण ७ दिनभित्र उपलब्ध गराउन पत्र काटेको हो । मन्त्रालयले कार्यालयहरूलाई विवरण पठाउन दिएको म्याद यहि शुक्रबार सकिँदै छ ।
मन्त्रालयको कर्मचारी प्रशासन शाखाले २५ पुसमा स्वास्थ्य सेवा विभाग, औषधि व्यवस्था विभाग, आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभाग, प्रतिष्ठान, अस्पताल, कार्यालयलगायत मन्त्रालय मातहतका सबै निकायलाई आ–आफ्नो कार्यालय अन्तर्गत कार्यरत त्यस्ता कर्मचारीको विवरण पठाउन भनेको छ । कार्यालयहरूले विनाजानकारी लगातार ६० दिनभन्दा बढी हाजिर नभएका कर्मचारीको नाम, थर, कर्मचारी संकेत नम्बर, पद, अनुपस्थित भएको मिति र अवधि समेतको विवरण मन्त्रालयमा पठाउनुपर्ने उल्लेख गरेकोछ ।
स्वास्थ्यमा खटाइएको स्वास्थ्यसंस्थामा कर्मचारी आकलझुक्कल मात्र पुग्ने रोग पुरानै भए पनि पछिल्लो समय समायोजनमा चित्त नबुझेर पदस्थापन भएको कार्यालयमा हाजिर हुन नजाने कर्मचारीको संख्या ठूलो छ । करिब ७ हजार कर्मचारीको समायोजन गुनासो अझै टुंगो लाग्न सकेको छैन । त्यसमा कतिपय आफूअनुकूल नभएको भन्दै खटाइएको ठाउँमा जाना मानेका छैनन् भने कतिपयको समायोजनमै व्यावहारिक त्रुटिसमेत भएको छ ।
सुगम तथा आफूलाई पायक पर्ने ठाउँ खोजेर खटाइएको ठाउँमा हाजिर हुन नजाने प्रवृत्तिका कारण दुर्गमका स्वास्थ्यसंस्थामा सेवा प्रभावित भइरहेका छन् । यस्तोमा मन्त्रालयले जानकारी नै नदिई लामो समयसम्म कार्यालयमा हाजिर नहुने कर्मचारीको विवरण माग गरेको छ । स्वास्थ्य मन्त्रालयले लिएको गुनासो समयमै टुंगो नलगाउँदा देशैभरि स्वास्थ्य सेवामा नकारात्मक प्रभाव परेको छ ।