विराटनगरमा सडक महोत्सव सुरु


सरोज यादव, विराटनगर ।
स्थानीय संस्कृति र जातीयखानाको प्रवद्र्धन गर्ने उद्देश्यका साथ विराटनगरमा सडक महोत्सव–२०७६ सुरु भएको छ । महोत्सवमा विभिन्न परिकार तथा समुदाय विशेषका खानाका परिकार, विभिन्न राष्ट्रिय कलाकारद्धारा सांगितीक प्रस्तुती र विभिन्न संस्कृतिझल्किने नृत्य मुख्य आकर्षक रहेका छन् । मञ्जिनामुभिज क्रियशसनको आयोजनामा माघ चार गतेसम्म चल्ने महोत्सवको बुधबार विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले उद्घाटन गर्नुभयो ।

उद्घाटन पश्चात बोल्दै मेयर पराजुलीले यस किसिमको कार्यक्रम आगामी दिनमा पनि हुनुपर्ने बताउँदै महानगरपालिकाले निरन्तर सहयोग गर्ने बताउनुभयो । उहाँले महानगरपालिकाले पनि चाँडै नै भव्य सडक महोत्सव गर्ने पनि घोषणा गर्नुभयो । त्यस्तै जिल्ला प्रहरी कार्यालय मोरङका एसपी विश्व अधिकारीले कार्यक्रम सफलताको शुभकामना व्यक्त गर्नुभयो । उहाँले मेलामा भीँडभाडका कारण विभिन्न अपराधिक घटना हुन सक्ने भन्दै सचेत रहनपनि आग्रह गर्नुभयो । आयोजक समितिका संयोजक तथा मञ्जिनामुभिजका प्रवन्ध निर्देशक जतिन ताम्राकारले विराटनगरमा सडक महोत्सव गर्ने पहिलेदेखिको सपना पूरा भएको बताउनुभयो ।

उहाँले महोत्सवले नेपाल सरकारले अघि सारेको भ्रमण वर्षको प्रचार गर्ने पनि बताउनुभयो । उद्घाटन समारोहमा बोल्ने वक्ताहरुले सडक महोत्सव महत्वपूर्ण भएको बताउँदै सफलताको शुभकामना व्यक्त गरेका थिए ।५० वटा स्टल रहेको महोत्सवमा नेवारी, थारु, मारवाडी, थकालीसहित स्थानीय विभिन्न खानाका परिकारहरू रहेका छन् भने फुट ट्रक थप आकर्षणका रुपमा रहेको छ ।

त्यस्तै खानाबाहेक स्थानीय उत्पादन, व्यावसायिक स्टल पनि रहेका छन् भने बालबालिकाका लागि गेमजोन, हरेक साँझ स्थानीय तथा राष्ट्रियस्तरका कलाकारहरूको प्रस्तुति समेत रहनेछ । महोत्सवमा सीमावर्ती भारतीय बजार जोगबनी, फारविसगञ्ज, सुनसरी, मोरङ, झापालगायतका १ लाखभन्दा बढी दर्शकले अवलोकन गर्ने र १ करोडको करोबार हुने अपेक्षा आयोजकले गरेको छ । हरेक दिन ३ देखि राति ८ बजेसम्म सञ्चालन हुने महोत्सवमा अनिल सिंह, सुमग पोखरेल, आल्मोडा रानालगायतका कलाकारहरुले सांगितीक प्रस्तुती रहने बताइएको छ ।