नयाँ संसद् भवन बनाउन निर्देशन

0
Shares

नेपाल सामाचारपत्र, काठमाडौं

विसं २०७२ साल वैशाख १२ गते गएको भूकम्पका कारण क्षतिग्रस्त भएको पुरानो प्रतिनिधिसभाको ग्यालरी भवन निर्माणका लागि सरकारलाई निर्देशन दिइएको छ।

संघीय संसद्को विकास तथा प्रविधि समितिको मंगलबार बसेको बैठकले सिंहदरबारभित्र अवस्थित उक्त भवनको साविक मौलिक कलाकृति नहराउने गरी नयाँ भवन बनाउन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, शहरी विकास मन्त्रालय र राष्ट्रिय पुनर्निर्माण कार्यालयलाई निर्देशन दिएको हो।

हाल त्यस भवन आसपास काठघर बनाई विभिन्न समितिका बैठक गरिँदै आएको छ। ग्यालरी भवन २०७२ सालको भूकम्पका कारण जोखिममा परेको थियो। यसअघि भवनलाई रेक्ट्रो फिटिङ गर्ने भनिए पनि प्राविधिकरूपमा उचित नदेखिएकाले नयाँ नै बनाउनुपर्ने निष्कर्ष निकालिएको हो।

बैठका सांसदहरू रामबहादुर विष्ट, यज्ञराज सुनुवार, रंगमति शाहीलगायतले उक्त भवनको कलाकृति नहराउने गरी ऐतिहासिक महत्व कायम राखी बनाउनुपर्ने धारणा राख्नुभएको थियो।

सहरी विकास मन्त्रालयका सचिव मधुसुदन अधिकारी र राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सचिव शिवहरी शर्मालाईसमेत डाकिएको उक्त बैठकमा दुवै जनाले उक्त भवन माटो र इँटाले बनेकाले रेक्ट्रो फिटिङ गर्न ठिक नहुने प्राविधिकहरूले रिपोर्ट दिएको बताउनुभएको थियो।