ईश्वरराज ढकाल, काठमाडौं।
विक्रम संवत् २०७७ सालको दशैं र तिहार २५ दिन पर धकेलिएको छ।नयाँ पात्रोअनुसार असोज एक महिना मलमास परेकाले दुई चाडपर्व करिब एक महिना धकेलिएको हो।
पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष रामचन्द्र गौतमले मलमासका कारण विवाहको लगनलाई समेत असर पारेको जानकारी दिनुभयो। आउँदो वर्ष विवाहको लगन करिब १५ दिनजति मात्रै छ। २०७६ सालमा करिब ३० दिन साइत परेको थियो।
व्रतबन्धको साइत जम्मा पाँच दिन मात्रै छ। पञ्चाङ्ग निर्णायक समितिले निर्णय गरेअनुसार विसं २०७७ सालको घटस्थापना कात्तिक १ गते परेको छ। पात्रोअनुसार कात्तिक ७ गते फूलपाती, ८ गते महाअष्टमी, ९ गते महानवमी र १० गते विजया दशमी अर्थात् टीका परेको छ।
तिहार कात्तिक २८ गतेदेखि शुरू हुनेछ। २८ गते कागतिहार, २९ गते बिहान कुकुर तिहार र बेलुकी लक्ष्मीपूजा, ३० गते गोवद्र्धन तथा म्हः पूजा र मंसिर १ गते भाइटीका रहेको पञ्चाङ्ग निर्णायक समितिका सदस्य–सचिव सूर्यप्रसाद ढुंगेलले जानकारी दिनुभयो।
यो वर्ष गोवद्र्धन पूजा र म्हः पूजा एकैदिन परेकाले नेवारी समुदायले गोवद्र्धन पूजाको भोलिपल्ट म्हः पूजा मनाएका थिए।
पात्रोमा भएको तिथिभन्दा फरक मान्दै नेवारी समुदायले भाइटीकाको एक दिनपछि मात्र टीका लगाएका थिए। विसं २०७७ सालमा पनि गोवद्र्धन पूजा र म्हः पूजा एकैदिन परेकाले पात्रोअनुसार भाइटीका लगाउने कि पछि लगाउने भन्ने विषय समस्या उत्पन्न हुनेछ।
समितिले गोवद्र्धन पूजा र म्हः पूजा एकैदिन परेपछि पात्रोमै सूचना जारी गरी समुदायले गरेको निर्णयको आधारमा चाडवाड मनाउन सक्ने उल्लेख गरेको छ। सूचनामा पञ्चाङ्गमा उल्लिखित पर्व समाज र परम्पराको आधारमा निर्णय भएका हुन्, यसभन्दा फरक दिन मनाउने परम्परा भएका व्यक्ति वा समुदायले आफ्नो परम्पराअनुसार चाडपर्व मनाउन सक्ने उल्लेख छ।
सरकारले यो वर्ष नेवारी समुदायको हितअनुकूल निर्णय गर्दै भाइटीकाको भोलिपल्टसमेत सार्वजनिक बिदा दिएको थियो।
बिदाको निर्णय गर्न अनुरोध
समितिले गृह मन्त्रालयलाई बिदा सार्वजनिक गरी क्यालेन्डर छपाइका लागि बाटो खुला गर्न आग्रह गरेको छ। समितिका सदस्य–सचिव ढुंगेलसहितको टोलीले गृहमन्त्री रामबहादुर थापालाई भेटेर पञ्चाङ्ग निर्णायक पात्रोको निर्णय पेस गरेकै दिन सो आग्रह गरेको हो।
सदस्य–सचिव ढुंगेलले मन्त्रीलाई बिदा निर्णय गर्न आग्रह गरेको बताउँदै तत्काल निर्णय नभए देश तथा विदेशमा बस्ने नेपालीलाई समस्या पर्ने अवगत गराउनुभएको थियो।
सो क्रममा मन्त्री थापाले आफूले अध्ययन गरी चाँडै निर्णय गर्ने वचन दिनुभएको समितिका सदस्य–सचिव ढुंगेलले जानकारी दिनुभयो। सरकारले बिदाको सूचना जारी नगरे पनि पात्रो निकाल्ने कामलाई नरोकेको जानकारी दिनुभयो।
‘सरकारले निर्णय नगरेसम्म शनिबार पनि रातो लगाउन पाइँदैन, कसैले मनपरीरूपमा क्यालेन्डर छापेर गलत गर्ने गरेको यथार्थबारे मन्त्रीलाई जानकारी गराएका थियौं, यो विषयमा मन्त्रीले चाडै निर्णय गर्छु भन्नुभएको छ।’ –सदस्य–सचिव ढुंगेलले भन्नुभयो।











प्रतिक्रिया