कठ्याङ्ग्रिएरै पढ्नुपर्छ राउटे विद्यार्थीले

0
Shares

मधुसूदन रायमाझी, डडेल्धुरा। 

पटपट्टी फुटेको खुट्टामा हात्तीछाप चप्पल। पुसको जाडो। छैन न्यानो कपडा। विद्यालयको चौरमा यत्रतत्र किताबको झोला छोडेर लाम लागेका छन् विद्यार्थी। मुटु काप्ने जाडोमा ज्याकेट र स्विटरबिना नै विद्यालय आउँछन् यी विद्यार्थी।

यो हो डडेल्धुरा जिल्ला परशुराम नगरपालिका–२ को बीपी प्राथमिक विद्यालय आमपानी। सरकारले राउटे समुदायका बालकालिकालाई लक्षित गरी २०४२ सालमा उक्त विद्यालय सञ्चालमा ल्याएको थियो, जहाँ अधिकांश लोपोन्मुख राउटे समुदायका बालबालिका नै पढ्छन्।

राउटे समुदायका अधिकांश व्यक्ति कृषि र मजदुरी गरेर जीविका चलाउँदै आएका छन्। तर, शुरू–शुरूमा विद्यालय पठाउन आनकानी गर्ने राउटे समुदायले अहिले छोराछोरीलाई विद्यालय पठाउन थालेका भए पनि गरिबीका कारण उनीहरूलाई कापी, कलम, झोला, कपडा र जुत्ता–चप्पलको व्यवस्था गर्न सकेका छैनन्।

उक्त विद्यालयका प्रअ दानबहादुर कठायतले गरिबीका कारण उनीहरूले बालबालिकालाई आवश्यक सामान्य सामग्री पनि उपलब्ध गराउन नसकेको बताउँदै भन्नुभयो– ‘विद्यालय पनि स्रोत र साधनले सम्पन्न छैन, तैपनि अहिले नगरपालिकाको प्रतिविद्यार्थी १५ रुपियाँको सहयोगमा दिवाखाजासम्म खुवाउने व्यवस्था गरेका छौं।’

विद्यालयले आइतबार गेडागुडी, सोमबार चनाकेराउ, भटमास, मंगलबार दाल र चामलबाट बनेको परिकार, बुधबार दालभात खिचडी, बिहीबार सुजीको हलुवा र शुक्रबार चिउरा अन्डा खुवाउने कार्यतालिका बनाएको छ।

नगरपालिकाले राउटे विद्यार्थीका लागि पोशाक र झोलाको व्यवस्था गरिदिए उनीहरू थप आर्कषित हुने प्रअ कठायतले तर्क गर्नुभयो। प्रअ कठायतका अनुसार सरकारले वार्षिक ३ सय रुपियाँ छात्रवृत्ति दिँदै आएको छ।

डडेल्धुरा परशुराम नगरपालिकाका नगरप्रमुख भीमबहादुर साउदले दिवाखाजाको व्यवस्था गरिएको स्वीकार्दै भन्नुभयो– ‘नगरपालिकाभित्र कोही पनि विद्यार्थी शिक्षाबाट बञ्चित नहोस् भनेर अभियान सञ्चालन गरेका छांै, राउटे समुदायका विद्यार्थीहरूको लागि नगरपालिकाले विशेष ध्यान दिएको छ।’

कक्षामा ४ अध्ययनरत सुरेन्द्र राउटेले मनै कटक्क खाने गरी भन्नुभयो– ‘हामीलाई पनि राम्रो ब्याग बोक्ने र न्यानो कपडा लगाउने रहर छ नि, यस्तो जाडोमा चप्पलै लगाएर आउनुपरेको छ।’

सामुदायिक विद्यालयमा विद्यार्थीको संख्या घटिरहेका बेला यस विद्यालयमा भने विद्यार्थीको उपस्थिति राम्रो रहेको प्रअ कठायतको भनाइ छ। कक्षा ५ सम्म पढाइ हुने यस विद्यालयमा १ सय ४ जना विद्यार्थी छन्, जसमध्ये ६८ जना राउटे समुदायका छन्।

विद्यार्थीको संख्या राम्रो भए पनि शिक्षक भने दुई जना मात्र रहेकाले पठनपाठनमा समस्या परेको उहाँले सुनाउनुभयो। यस्तै स्रोत र साधनको अभावमा कक्षाकोठाको व्यवस्थापन राम्रो बन्न नसकेको बताउँदै प्रअ कठायतले भन्नुभयो– ‘सामुदायिक विद्यालयमा विद्यार्थीको उपस्थित राम्रो छ, सोचेअनुसार पठनपाठन गर्नसकेका छैनांै।’

अभिभावक बिसनसिंह राउटेले पनि गरिबीकै कारण छोराछोरीलाई राम्रो कपडा दिन नसकेको दुःखेसो पोख्दै भन्नुभयो– ‘बिहान बेलुका छाक टार्न मजदुरी गर्नुपर्छ, राम्रो झोला र लुगा किनिदिन त मन छ तर पैसा हुँदैन ?’